काठ्माडौं। नियमित बैठक, पत्रपत्रिका, सञ्चारका साथै अनुगमन लगायतबाट इटहरी उपमहानगरपालिका वडा नं. ५ का वडा सदस्य गोपाल गिरी महिनामा १० हजार हाराहारीमा भत्ता बापतको पैसा थाप्ने गर्दछन् । उनले पाउने बापतको पैसा उपमहानगरपालिकाले खातामा हाल्दिनसाथ उनी आफूले वचन दिएको ठाउँमा रकम हस्तान्तरण गर्न गइहाल्छन् ।
उपचारको अभावमा औषधि नपाएका, पढ्नलाई किताब, कापी, कलम किन्न नसक्ने समुदाय, टोल विकास तथा विभिन्न सांस्कृतिक कार्यक्रमका लागि उनले आउने पैसाबाट छुट्टाएर दिने गरेको दाबी गरे ।
‘जनप्रतिनिधि जनताको सेवक पनि त हो,’ प्रदेश खबरसँगको कुराकानीका क्रममा गिरी भन्छन्, ‘यो मेरो अभियान भनेको जनताको कर जनतामै फिर्ता गर्ने अभियान हो ।’आफू वडाको प्रतिनिधि भएकाले नगरपालिकाबाटै भत्ता नलिने भन्दा पनि आएको पैसा आफ्नै वडाका जनतालाई दुःख परेको बेला दिने गरेको उनको भनाइ छ । ‘म सार्वजनिक रूपमै मेरो आउने सुविधाका बारेमा यहाँ लगानी गर्दछु भनेर घोषणा गर्ने गर्दछु,’ उनले भने, ‘त्यसै अनुसार आउन साथ म हस्तान्तरण गरिहाल्छु ।’ लामो समय वैदेशिक रोजगारीको सिलसिलामा बाहिरिएका गोपाल विदेशबाट फर्किएर राजनीतिमा होमिएसँगै नेकपा एमालेका तर्फबाट वडा सदस्यमा निर्वाचन जिते । ‘हामी जनप्रतिनिधि भनेको कमाउनका लागि बनेको होइन । जनताको सेवा गर्न आएका हौँँ । स–साना दुःखमा पनि जनतालाई मल्हमपट्टी लगाउन सकियो भने जनतामा आशा पैदा गर्दछ,’ उनले भने ।
जनताले दुःख गरेर कमाएको करमा जनप्रतिनिधिले रजाँईँ गर्न नहुने उनको तर्क छ । ‘म आफैँ विदेशमा गएर पसिना बगाएको मान्छे हुँ । जनतालाई एक रुपैयाँ कमाउनका लागि कति परिश्रम गर्नुपर्ने हुन्छ । त्यहाँबाट कटाएको पैसामा जनप्रतिनिधिले राख्नुहुन्न भन्ने मेरो मान्यता हो,’ उनले थपे ।
जनप्रतिनिधिप्रति आम रूपमा निराशा पैदा भइरहेको वर्तमान समयमा आफ्नो अभियानले आशा पैदा गरेको गिरीको दाबी छ । ‘आम जनप्रतिनिधि साथीहरूले बुझ्नुपर्ने अवस्था पनि छ,’ उनले भने, ‘हामी जनताप्रति उत्तरदायी बन्नुपर्दछ ।’

जनताको भरोसा वडाप्रति, तर बजेट कम आम जनताको मुख्य भरोसा भनेको स्थानीय तह र त्यसमा पनि वडा रहेको उनी बताउँछन् । निर्वाचन जितेको अढाई वर्ष बितिसक्दासमेत वडाले सङ्कुचित बजेटमा काम गरेको उनको भनाइ छ ।
‘वडाको बजेट कति न हुन्छ त्यो सबै थाहा भएकै कुरा छ । तर, नजिकको सरकार भएर नै जनताको चाहना चैँ बढी वडाप्रति नै हुने रहेछ,’ उनले भने ।
गिरीले जनतासँग वडा सदस्य अभियानसमेत सञ्चालन गरेका छन् ।भौतिक विकासका पूर्वाधार जस्तो कहीँ सडक खाल्टो परिरहेको हुन्छ । त्यस ठाउँमा मर्मत गर्नका लागि आफूलाई आएको रकमबाटै गर्ने योजना बनाएर जनतासँग थप जोडिने तयारीमा रहेको छु,’ गिरीले थपे ।
इटहरीको एक्लो प्रतिनिधि इटहरीमा रहेका एक सय दुई जना जनप्रतिनिधिमा आफू जनताको कर जनतालाई नै फिर्ता गर्ने एक्लो प्रतिनिधि भएको उनको दाबी छ । हामीले यो अभियानलाई तीव्रता दिनुपर्ने अवस्था छ,’ उनले भने, ‘देशभरका प्रतिनिधिले यसो गर्न सकियो भने जनताप्रतिको इमानदारिता कायम रहन सक्छ ।’उनले परेका समस्याका बारेमा जानकारी गराउन अपिलसमेत गरे ।