काठमाडौँ । बहालवाला खेलकुद मन्त्रीलेनै पूर्वाधार विकास र खेलाडी प्रोत्साहनका लागि बजेट अभाव रहेको गुनासो गर्नु भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री विराजभक्त श्रेष्ठले पूर्वाधार विकास र खेलाडीहरुलाई प्रोत्साहनका लागि पर्याप्त बजेट नभएको खुलासा गर्नु भएको हो ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाका रुपमा विकासका लागि समेत बजेट अभाव रहेको बताउनुभयो ।
उहाँले मुलपानी, विराटनगरस्थित गिरिजाप्रसाद कोइराला, बैतडीको दशरथ चन्द, कैलालीको फाप्ला र काठमाडौँको सुवर्णशमशेर क्रिकेट रंगशाला निर्माणका लागि कार्यक्रम रहे पनि पर्याप्त बजेट नहुँदा गति सुस्त भएको स्वीकार्नुभयो ।
बैठकमा सांसदहरुले खेल पूर्वाधारहरु एकै पटक धेरैतिर निर्माण गर्न सम्भव नभए छनोटका आधारमा उपयोगी र कम खर्चका संरचना बनाउन, खेल प्रतिभाको खोजी र संरक्षण गर्न, विदेशमा हुने प्रतियोगीतामा खेलाडीभन्दा अन्य व्यक्तिको भीड नपठाउन, खेल क्षेत्रलाई अनुशासित र भ्रष्टाचाररहित तुल्याउन आग्रह गरेका थिए ।
बैठकमा राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले दशरथ रंगशालाको मूल ढोका निर्माण गर्न लागिएको र कीर्तिपुरस्थित क्रिकेट खेल मैदानमा ‘फ्लड लाइट’ जडानको प्रक्रिया सुरु भएको जानकारी दिनुभएको थियो ।