काठ्माडौं।मायाँ घर नेपाल इटहरी सुनसुरीले कोठामा थुनिएर बस्न बाध्य खोटाङका नौँ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको उद्धार गरेको छ । छ वर्षदेखि आफ्नै घरको एउटा कोठामा थुनिएर बसेका ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका नौँ वर्षीय बालक अङ्गबहादुर थापा र सहाराविहीन नौँ वर्षीया सुजता राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ११ वर्षीय विश्वहाङ राई र १२ वर्षीय रुविन राईलाई मायाँ घर नेपालले आइतबार उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङ र सम्बन्धित वडा कार्यालयको समन्वयमा बन्धक अवस्थामा रहेका एक बालकसहित सहाराविहीन चार बालबालिकाको पालनपोषण, शिक्षादिक्षा तथा स्वास्थ्य उपचार गर्नेगरी उद्धार गरिएको मायाँ घर नेपालका खोटाङ प्रतिनिधि प्रमेश ढकालले जानकारी दिनुभयो । “उद्धार गरिएका चारैजना बालबालिकालाई एम्बुलेन्समार्फत इटहरी पठाइएको छ । उनीहरुको पालनपोषण, शिक्षादिक्षा तथा स्वास्थ्य उपचार मायाँ घर नेपालले गर्छ“, उहाँले भन्नुभयो, “मायाँ घर नेपाल बालबालिकाको नैसर्गिक अधिकार रक्षा गर्ने उद्देश्यले स्थापना गरिएको संस्था हो । जिल्लामा सहाराविहीन रहेका बालबालिकाहरुलाई खोजी–खोजी उद्धार गरेर इटहरी पठाउने अभियानमा जुटेका छौँ ।”
आफ्नै बुबाआमाले घरको एउटा कोठामा पशुसरह थुनेर राखेको ठाउँबाट उद्धार गरिएका राखाबाङ्देका अङ्गबहादुर बोल्न र हिँड्नसमेत नसक्ने अवस्थामा रहेको जनाइएको छ । अङ्गबहादुरको बुबाआमा दुवैजना भएपनि कमजोर आर्थिक अवस्थाका कारण उनलाई कोठामा थुनेर छिमेकीकामा बनीबुतो गर्न जाने र उनीहरु उतै बस्ने गरेको पाइएको उद्धारमा सहभागीहरुले बताएका छन् ।
उद्धार गरिएकी राखाबाङ्देलकै सुजताको आफ्नै बुबा नभएको तथा आमाले समेत अर्कै व्यक्तिसँग विवाह गरेको पाइएको जनाइएको छ । आमाले विवाह गरेको व्यक्ति (सानाबुबा)ले समेत सुजतालाई हेलाहोचो गर्दा खान र आङ (शरीर) ढाक्न लगाइने लुगासमेत नपाएको अवस्थाबाट उनलाई उद्धार गरिएको हो ।
सहाराविहीन दुई बालबालिकाको पालनपोषण तथा शिक्षादिक्षाका लागि अहिलेसम्म गाउँपालिकामा कुनै पनि व्यवस्था नभएकाले उद्धार गरेर मायाँ घर नेपाललाई जिम्मा दिइएको राखाबाङ्देलका वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले जानकारी दिनुभयो । वडाध्यक्ष राजभण्डारीका अनुसार लामो समयदेखि बन्धक अवस्थामा रहेका बालक तथा सहाराविहीन बालिकालाई गाउँपालिका र प्रहरीको समन्वयमा उद्धार गरेर पठाइएको हो ।
उद्धार गरिएका बुइपाका विश्वहाङको बुबा पाँच वर्षदेखि बेपत्ता तथा आमाले अर्कैसँग विवाह गरेको पाइएको जनाइएको छ । बुबाआमा दुवैको सहारा नपाएका विश्वहाङलाई छिमेकीकामा बसिरहेको अवस्थाबाट उद्धार गरेर इटहरीस्थित आश्रयस्थल पठाइएको बुइपाका वडाध्यक्ष दिनेश राईले जानकारी दिनुभयो ।
बुइपाकै रुविनको बुबा अपाङ्ग रहेको र आमासमेत असक्त रहेकाले पालनपोषण, शिक्षादिक्षा तथा स्वास्थ्य उपचारमा समस्या भएकाले उद्धार गरिएको जनाइएको छ । रुविनको बुबा शारीरिकरुपमा अपाङ्ग तथा आमा दीर्घरोगी भएकाले उनीहरुको जीवनयापनमा समेत समस्या रहेको वडाध्यक्ष राईले जानकारी दिनुभएको छ ।
सहाराविहीन बालबालिकाको उद्धारका लागि मायाँ घर नेपालका खोटाङ प्रतिनिधि ढकाल, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी सहायक निरीक्षक डम्बर श्रेष्ठ, सम्बन्धित वडाका वडाध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । उद्धार गरिएका उनीहरु चारैजना सहाराविहीन बालबालिकालाई ऐसेलुखर्क गाउँपालिकाले निःशुल्क उपलब्ध गराएको एम्बुलेन्समार्फत आइतबार नै इटहरी पठाइएको जनाइएको छ ।
दश स्थानीय तह रहेको जिल्लाबाट यसअघि जिल्ला प्रहरी कार्यालय खोटाङले चारजना सडक आश्रित मानव तथा दुईजना सहाराविहीन बालबालिकाको उद्धार गरेको थियो । जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले उद्धार गरेका उनीहरुलाई मानव सेवा आश्रम विराटनगर पठाइएको जनाइएको छ ।