काठमाडौं । लगातार दुई वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मङ्सिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ । गएका दुई वर्षको हिउँद उल्लेख्य वर्षा नभई सकिएका थिए । यो वर्षको हिउँदको मध्यतिर आइपुग्दा पनि वर्षाको कुनै सम्भावना छैन ।
नेपालको उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा छिटफुट हिमपात भए पनि महाभारत, चुरे र तराईमा वर्षा हुन सकेको छैन । नेपालमा हुने वर्षाको ८ देखि १० प्रतिशत वर्षा हिउँद याममा हुने बताइन्छ । यस्तै, अङ्ग्रेजी महिनाको जनवरीमा ६० मिलिमिटर वर्षा हुनुपर्छ भन्ने मत मौसमविद्हरुको छ । विगत वर्षको अनुभव र यो वर्षको अनुमानले जनवरीमा वर्षा हुने सम्भावना कम छ, भयो भने पनि ६० मिलिमिटरभन्दा कम हुने अनुमान छ ।
जलवायुविद् डा. धर्मराज उप्रेतीले यो हिउँदमा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत अनुमान गरिएको बताउनुभयो । नेपालको हिउँद यामको वर्षा अरब सागरमा बन्ने जलचक्रीय प्रणाली र पश्चिमी वायुमा बढी निर्भर छ । यी दुवै प्रणालीमा पानी पार्ने जलयुक्त वाष्पको कमीले वर्षा हुन सकेको छैन ।
नेपालमा हिउँदे वर्षाको निकै महत्त्व छ । हिमालय क्षेत्रमा उद्गम भएर बग्ने नदीको पानीको मुख्य स्रोत नै हिउँदे वर्षासँगै हुने हिमपात हो । नेपालमा हिउँदको वर्षाले हिमाल र जमिनमा पानीको पुनःभरणको काम गर्छ । हिमालमा हिउँको रुपमा र हिउँ नपर्ने स्थानमा पानी जमी भित्र गइ जम्मा हुन्छ । यो नै पछि गएर मुलको रुपमा बाहिर आउछ । हिउँदमा पानी नपरे वर्षायाममा घटेको जलसतहमा पुनःभरण हुन पाउँदैन जसको असर वर्षायाममा मूल फुट्न समय लाग्ने साथै कतिपय स्थानमा मूल फुट्न नै नसक्ने हुन्छ ।
अर्कोतर्फ हिउँदे वर्षा नहुँदा वन डढेलो र आगलागीको घटना बढेर जान्छ । आगलागीले जनधनको क्षतिसँगै वायु प्रदूषण बढाउँछ । प्रदूषणको घनत्व जति बढी हुन्छ त्यति सुख्खा र पानी कम पर्ने सम्भावना बढेर जान्छ ।
‘हिउँदे वर्षा कम हुँदा सुख्खा र खडेरीको अवस्था आउँछ । आगलागीका घटनाहरु बढी हुन्छन् । आगलागीका घटनाहरु बढी भयो भने वन, जङ्गलमा हुने पारिस्थितिक प्रणाली बिग्रन्छ । प्रदूषणमा वृद्धि हुन्छ । काठमाडौं जस्तो चारैतिरबाट ठुला पहाडले घेरिएको ठाउँमा धुवाँ धुलोको मात्रा बढ्छ’, जलवायुविद् डा. उप्रेतीले भन्नुभयो, ‘तर त्यसलाई बाहिर पठाउनका लागि कि त वर्षा हुनुपर्छ कि त ठुलो हावा चल्नुपर्छ । त्यस्तो भएन भने लामो समयसम्म कामठमाडौं प्रदूषित शहर भएर बस्छ । आज नै १५० देखि १८० इन्डेक्स हाराहारीमा प्रदूषणको अवस्था छ । जुन निकै हानिकारक हो । समग्रमा वर्षाको असर कृषि, वन, प्रदूषण, आगलागीलगायतका कुराहरुमा हुने भएको हुनाले हामीले सचेत हुन जरुरी छ ।’
नेपाली आकाशमा रहेको प्रदूषित हावालाई पश्चिमी वायुले विस्थापित नगरेसम्म पानी पर्ने सम्भावना रहँदैन । पछिल्ला केही वर्ष यता पृथ्वीको तापक्रममा वृद्धि हुनु र हिउँदे वर्षा गराउने स्रोतमा आएको सुख्खापनले पश्चिमी वायुको प्रभाव कमजोर बनिरहेको छ । त्यसमाथि वायु प्रदूषणले पश्चिमी वायुलाई तल्लो सतहसम्म आउन दिएको छैन ।