काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापा आफ्नो चरित्र हत्याविरुद्ध कानूनी उपचारका लागि अदालत पुग्नु भएको छ । थापाले आफुमाथि निराधार आरोप लगाई चरित्र हत्या गरेको भन्दै एन्फा महासचिव किरण राईविरूद्ध जिल्ला अदालत काठमाडौंमा रिट दायर गर्नु भएको हो ।
पूर्वअध्यक्ष थापा आफैं उपस्थित भएर बहालवाला एन्फा महासचिव राईविरुद्ध बेइज्जती सम्बन्धी कसुरको रिट दायर गरेको अधिवक्ता भूपेन्द्र पोखरेलले बताए । राईले मुलुकी अपराध संहिता २०७४ को दफा ३०६(१)ले निषेधित र सोही दफा (२) (क) विपरीतको कसुर गरेकाले दफा ३०७ को उपदफा (१) बमोजिमको सजाय तथा सोही दफाको उपदफा (२) बमोजिमको क्षतिपूर्ति एवं मुद्दामा लागेको खर्च समेत दिलाई पाउँ भनी रिटमा मागदावी गरिएको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ मा कसैले कसैको बेइज्जती गरे वा गराएमा दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना तथा दुबै सजाय हुने व्यवस्था छ । विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरे गराएमा थप एक वर्षसम्म कैद तथा दश हजार जरिवाना हुने समेत अपराध संहिताले भनेको छ । त्यसरी विद्युतीय वा आम सञ्चारमाध्यमबाट बेइज्जती गर्ने गराउनेलाई मनासिव क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्च समेत भराउने व्यवस्था संहिताले गरेको छ ।
अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्तो आधारहीन आरोप लगाएर चरित्रहत्या गर्ने प्रयास गरेको भन्दै पूर्व अध्यक्ष थापाले यसअघि राईविरुद्ध प्रहरीको साइबर ब्यूरो भोटाहिटीमा कानुनबमोजिम छानविन गरी कारवाहीका लागि उजुरी दिनु भएको थियो ।
गएको आइतबार थापाले विज्ञप्ति जारी गरेर चरित्र हत्या गर्ने उद्देश्यबाट प्रेरित त्यस्ता कपोकल्पित प्रपोगण्डा गर्नेमाथि कारबाही हुने विश्वास लिएको भनी उल्लेख गर्नु भएको थियो । महासचिव राईले एक टेलिभिजन कार्यक्रममा आफुमाथि गम्भीर प्रकिृतिको आरोप लगाएको र त्यस्तो झुठा आरोप लगाउनेलाई कारबाही गर्न भन्दै एन्फा पूर्वअध्यक्ष थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिनु भएको छ ।
रिटमा थापाले राष्ट्रिय फुटबल टिमको कप्तानदेखि अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष, एएफसीको कार्यकारी सदस्य, साफको अध्यक्ष तथा फिफा अण्डर १९, अण्डर १९ वल्र्ड कप आयोजकसम्म रहेको छवि समेतलाई धुमिल पारेको भन्दै हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्नु भएको छ ।