काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित हासिल गरेको छ । वानखडे स्टेडियममा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराउँदै मुम्बईले जित विहिनता तोडेको हो ।
पाँच पल्टको च्याम्पियन मुम्बईले ४३ बल बाँकी छँदै शानदार जित निकाल्यो । आफ्नो पहिलो र दोस्रो खेलमा भने मुम्बई हारेको थियो । उसले चेन्नई सुपर किङ्ससँग चार विकेट र गुजरात टाइटन्ससँग ३६ रनको पराजय व्यहोर्नु परेको थियो ।
दोस्रो पल्ट ८ विकेटले हारेको कोलकाता सअघि रोयल च्यालेन्जर्स बैंग्लुरुसँग सात विकेटले पराजित भएको थियो । तर, राजस्थान रोयल्ससँग आठ विकेटको जित निकाल्दै प्रतियोगितामा पुनरागमन भने गरेको थियो ।
कोलकाताले दिएको ११७ रनको चुनौति पछ्याएको मुम्बईले १२.५ ओभरमा दुई विकेट गुमाउँदै १२१ रन बनायो । मुम्बईका रायन रिकेल्टोनले अविजित रहँदै सर्वाधिक ६२ रन बनाए । ४१ बल खर्चिएका उनले पाँच छक्का र चार चौका प्रहार गरे । सूर्यकुमार यादव २७ रनमा अविजित रहँ रोहित शर्मा १३ र विल ज्याक १६ रनमा आउट भए ।
कोलकाताका आन्द्रे रसेलले दुई विकेट लिए । २.५ ओभर बलिङ गरेका उनले ३५ रन खर्चिंदै दुई विकेट हात पारेका हुन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १६.२ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन बनाएको थियो ।
कोलकातालाई सस्तैमा रोक्न २३ वर्षीय अश्विन कुमारले घातक बलिङ गरे । तीन ओभर बलिङ गरेका उनले २४ रन खर्चिँदै सर्वाधिक चार विकेट हात पारे ।
मुम्बईका अंगकृश रघुवंशीले सर्वाधिक २६ रन बनाए । १६ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे ।
रामनदीप सिंहले १२ बलमा एक चौका र दुई छक्कासहित २२ रन बनाए । मनीष पाण्ड्या १९, रिन्कु सिंह १७ र कप्तान अजिंक्या रहाणे ११ रनमा आउट भए । अन्य भने क्रिजमा खासै टिक्न सकेनन् ।
मुम्बईका अश्विनबाहेक दीपक चहरले दुई विकेट लिए । ट्रेन्ड बोल्ड, हार्दिक पाण्ड्या, विग्नेश पुथुर र मिचेल सान्टनेरको नाममा एक-एक विकेट रह्यो । जितपछि मुम्बई अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ । कोलकाता भने पुछारमा छ ।