काठ्माडौ। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ नेकपा माओवादी केन्द्रको उपाध्यक्ष पदमा मनोनीतहुनुभएको छ । १८ र १९ चैतमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष पदमा मनोनीत गरेको हो ।
पासाङको पारिवारिक स्रोतले भन्यो, 'उहाँ (पासाङ) उपाध्यक्ष पदमा मनोनीत हुनुभएको छ।' पासाङ दुई कार्यकाल उपराष्ट्रपति बन्नु भएको थियो । उहाँ केही समयदेखि माओवादी केन्द्रको बैठकमा सहभागी हुने गर्नु भएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै चाहनाअनुसार पासाङ पार्टी राजनीतिमा फर्केको बताइन्छ ।
सात वर्षसम्म उपराष्ट्रपति भएर पदावधि सकिएपछि दहचोकस्थित निवासमा आराम गरिरहनु भएका उहाँ प्रचण्डको आग्रहपछि पार्टी राजनीतिमा सक्रिय हुने निर्णयमा पुग्नु भएको हो । हुन त पासाङ आफैँ पनि उपराष्ट्रपतिको कार्यकाल पूरा भएपछि सक्रिय राजनीतिमा आउन चाहनु भएको थियो । पछिल्लो समयमा माओवादीमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा मिलेर अप्ठेरोमा पार्न थालेपछि प्रचण्डले पासाङलाई अघि बढाएको खुमलटटार स्रोत बताउँछ ।
पासाङ २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि माओवादीबाट अलग हुनुभएको थियो । पासाङले २०४८ सालदेखि एकता केन्द्रबाट पूर्णकालीन भएर राजनीति सुरु गर्नु भएको हो । एकता केन्द्रको रोल्पा प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन हुनुभयो । त्यसबेला कृष्णबहादुर महरा, सन्तोष बुढामगर, करुण, प्रताप र पासाङसहितको पाँच सदस्यीय जिल्ला समिति बन्यो । पासाङ ‘जनयुद्ध’को तयारी गर्दा वाईसीएलको जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक हुनुभयो ।
पासाङले जनयुद्धुमा माओवादी सेनाको बटालियन कमिसार, बटालियन कमान्डर, ब्रिगेड कमान्डर, डिभिजन कमान्डर, डेपुटी कमान्डर र जनसेना प्रमुख भएर काम गर्नुभयो । उहाँ माओवादी पार्टीमा जिल्ला सदस्य, क्षेत्रीय ब्युरो सदस्य, दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, पोलिटब्युरोहुँदै स्थायी समिति सदस्यसम्म बन्नु भएको थियो ।