बनेपा । असोज दोस्रो साता रोसीखोलामा आएको बाढीका कारण पूर्ण रूपमा क्षति भएको बीपी राजमार्गको कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेर पुनर्निर्माण गरिने भएको छ ।
बाढीबाट क्षति भएको सडक नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिने भएको छ भने एक खण्ड पुनर्निर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएको छ । डिभिजन सडक भक्तपुरले काभ्रेपलाञ्चोकतर्फको तीन खण्डमध्ये दुई खण्ड पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । सिन्धुलीतर्फको एक खण्डका लागि पनि सूचना प्रकाशित भएको छ ।
डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर ९सिडिई० सुमन योगेशले काभ्रेपलाञ्चोकतर्फ भकुन्डेबेँसीदेखि चार सय बेँसीसम्मको करिब ११ किलोमिटर सडक र डालाबेँसीदेखि चार सय बेँसीसम्मको ८।५ किलोमिटर सडक पुनर्निर्माणका लागि बोलपत्र आह्वान भइसकेको बताउनुभयो । उहाँले सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्मको चार किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि बोलपत्रको सूचना प्रकाशित भइसकेको जनाउनुभयो ।
‘क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि सरकारबाट आठ अर्ब ५० करोड रुपियाँ बजेट सुनिश्चितता प्राप्त भएको छ, त्यसबाट काभ्रेपलाञ्चोक जिल्लातर्फ तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुली खण्डका लागि एक अर्ब रुपियाँ बजेट सुनिश्चितता आएको छ,’ सीडीई योगेशले भन्नुभयो । राजमार्गको अलि बढी मोड र अप्ठ्यारो रहेको बर्खेखोलादेखि डालाबेँसीसम्मको ५।५ किलोमिटर सडक पुनर्निर्माणका लागि भने जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग छलफल भएको र जाइकाले स्थलगत अध्ययन गर्न लागेको र उक्त सडकखण्ड पुनर्निर्माणका लागि जापान सरकार लगभग तयार देखिएको उहाँले बताउनुभयो ।
बर्खेखोलादेखि डालाबेँसी सडकखण्डमा साना टनेल बनाउने, भायाडक्ट (अग्ला पुल) बनाउनेखालका नयाँ काम हुन सक्ने भएकाले जाइकासँग छलफल चलिरहेको छ । ‘अहिलेको अवस्था हेर्दा उनीहरूले गर्नेजस्तो देखिएकाले हामीले उक्त खण्डको बोलपत्र निकालेका छैनौँ,’ सीडीई योगेशले थप्नुभयो । उहाँले उक्त खण्डमा रहेका सडकका मोडलाई सिधा बनाउनका लागि पाँच सय मिटरका छोटा टनेल (सुरुङमार्ग) बनाउन सकिने उल्लेख गर्नुभयो ।
उहाँले सडक पुनर्निर्माणका लागि सूचना प्रकाशित गरिएका सडक खण्डको जेठ पहिलो सातासम्म सम्झौता गर्ने लक्ष्य रहेको बताउनुभयो । क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माण गर्दा साबिकको सडक ट्र्याकबाटै सडक पुनर्निर्माण गरिने डिभिजन सडकले जनाएको छ ।
बीपी राजमार्गमा हाल भएको सवारी चापले समेत दुई लेन सडकको आवश्यकता महसुस भएको जनाउँदै डिभिजन सडक भक्तपुरले निकट भविष्यमा धुलिखेलदेखि भकुन्डेसम्मको साथै बिपी राजमार्गमा दुई लेन सडक आवश्यक देखिएको जनाएको छ । कार्यालयले पहिलो चरणमा भकुन्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ । खुर्कोटदेखि सिन्धुलीको चियाबासीसम्मको सडकलाई छोटो बनाउन सुरुङमार्ग बनाउने विषयमा समेत जाइकाले अध्ययन गर्दै आएको छ ।
बिपी राजमार्गमा आगामी मनसुनको समयमा यातायात सञ्चालन गर्नका लागि डिभिजन सडक भक्तपुरले अस्थायी सडकको उचाइ बढाउने काम गरेको छ । कार्यालयका सिडिई योगेशले डिभिजन सडक भक्तपुर, काठमाडौँलगायतका डिभिजनबाट एक्साभेटर, रोलर, लोडर, टिप्परलगायतका दैनिक ३७ वटा उपकरण परिचालन गरेर अस्थायी सडक मर्मत भइरहेको बताउनुभयो । ‘बाढीले क्षति गरेको राजमार्गमा वर्षायाममा सवारी सञ्चालन गर्न खोलाको बहाव परिवर्तनका साथै खोलामा रहेको निर्माणसामग्री प्रयोग गरेर सडकलाई तीनदेखि सात मिटरसम्म अग्लो बनाउने काम भइरहेको छ, सिडिई सुमन योगेशले भन्नुभयो ।
उहाँले वैशाख मसान्तभित्र बाढीले क्षति गरेको आठ किलोमिटर अस्थायी सडकको उचाइ बढाउनेलगायतको काम सम्पन्न हुने बताउनुभयो । बाढीले क्षति पुर्याउन सक्ने र अप्ठ्यारो स्थानमा तारजाली राख्ने कामसमेत भइरहेको छ । असोजभन्दा अघि आएका जस्ता बाढीले क्षति नगर्ने गरी अस्थायी सडक बनाइएको डिभिजन सडक भक्तपुरले जनाएको छ ।
कार्यालयले वर्षायाममा पहिरोलगायतबाट हुन सक्ने राजमार्ग अवरोधका लागि उपकरण र जनशक्ति व्यवस्थापन गरिने र यदि राजमार्ग अवरुद्ध भएको खण्डमा भकुन्डेबेँसी, तेमाल, मेच्छेपौवा हुँदै सिन्दुरेटारबाट वैकल्पिक सडक सञ्चालन गरिने जनाएको छ ।