जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सातादेखि मधेशमा भण्डाफोर अभियान सुरु गर्ने घोषणा गरेको छ । मधेशको मौजूदा व्यवस्थाका अस्वीकृत पक्षलाई उजागर गर्न र सरकारको कुशासन तथा भ्रष्टाचारका दुष्प्रभावलाई जनताकाबीचमा ल्याउने उद्देश्यका साथ पार्टीले अभियान सुरु गर्न लागेको जनाएको छ ।
जनकपुरधाममा पत्रकार सम्मलेनमार्फत रास्वपा मधेश प्रदेश सभापति इन्जिनियर तपेश्वर यादवले पार्टीको उद्देश्य र आगामी योजनाबारे विस्तृत रूपमा जानकारी दिनु भएको छ । उहाँले भन्नुभयो, ‘हामी व्यवस्थाविरुद्धको भण्डाफोर अभियानलाई मधेश प्रदेशका प्रत्येक पालिकाबाट सुरु गर्नेछौं । यो अभियानले सरकारको कुशासन र भ्रष्टाचारका दुष्परिणामहरूको पर्दाफास गर्नेछ ।’
यादवका अनुसार यो अभियान मधेशका आठवटै जिल्लामा विशेष प्रभावकारी ढंगले सञ्चालन गरिने बताइएको छ । ‘हामी हरेक जिल्ला र गाउँमा जनचेतना फैलाउने र जनतालाई जागरुक बनाउने काममा लाग्नेछौं । यस अभियानका माध्यमबाट जनतालाई केवल सरकारका गलत क्रियाकलापका बारेमा मात्र जानकारी दिने होइन, उनीहरूको अधिकारको रक्षाका लागि आवाज उठाउन पनि प्रेरित गर्नेछौं,’ उहाँले थप्नुभयो ।
योसँगै रास्वपाले देशभरको युवा शक्ति र जन जागरण अभियानलाई प्रोत्साहन दिने उद्देश्य राखेको छ । इन्जिनियर यादवले पार्टीले युवालाई राजनीतिक, सामाजिक र नागरिक अधिकारका बारेमा शिक्षित गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभयो । ‘हामी यो आन्दोलनलाई केवल राजनीतिक प्रतिरोधको रूपमा होइन, एक सामाजिक जागरणको अवसरको रूपमा लिन्छौं । हाम्रो उद्देश्य जनतामा चेतना ल्याउनु हो,’ यादवले भन्नुभयो ।
त्यस्तै, उहाँले पार्टी सभापति रवि लामिछानेमाथि गरिएको धडपकडप्रति आक्रोस व्यक्त गरेका छन् । ‘राजनीतिक प्रतिशोधका आधारमा हाम्रो सभापति रवि लामिछानेलाई निशाना बनाइएको छ । सरकारका गलत कदमको विरोध जनाउन हामीले यो अभियानलाई अझ व्यापक बनाउने छौं । यो केवल रास्वपाको विरोध होइन, सम्पूर्ण लोकतान्त्रिक व्यवस्था र जनताको अधिकारको रक्षा गर्ने अभियान हो,’ यादवले पार्नुभयो ।