जनकपुर । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक डाक्टर वसन्त कुमार कर्णले आफूमाथि चैत २१ गते भएको ‘कालोमोसो प्रकरण’लाई अतिरञ्जित गरिएको भन्दै घटनाको वास्तविकता सार्वजनिक गर्नु भएको छ ।
जनकपुरधाममा बिहीवार पत्रकार सम्मेलनमार्फत क्याम्पस प्रमुख कर्णले घटनाको पृष्ठभूमि, योजनाबद्ध षड्यन्त्र र आन्तरिक शैक्षिक माफियाहरुको भूमिकाबारे १२ बुँदे विवरण सार्वजनिक गर्नु भएको हो ।
कर्णले सो दिन बेलुका ४ बजेको समयमा विज्ञान भवनबाट मोटरसाइकलमा बाहिर निस्कने क्रममा आफूलाई लुगामा मसि छर्किएको सामान्य घटनालाई ‘कालोमोसो दलियो’ भनेर अनावश्यकरूपमा प्रचार गरिएको दाबी गर्नुभयो । उहाँले यो प्रकरण योजनाबद्ध रूपमा आफ्नो चरित्र हत्या गर्ने र मानसिक दबाब सिर्जना गरी राजीनामा दिन बाध्य पार्ने षड्यन्त्र रहेको बताउनु भयो ।
कर्णले भन्नुभयो, ‘त्रिभुवन विश्वविद्यालयको इतिहासमै पहिलोपटक खुल्ला प्रतिस्पर्धाबाट योग्यता आधारित नियुक्ति पाएको म एक जना अल्पसंख्यक समुदायबाट आएको प्रमुख हुँ । मलाई असफल साबित गर्न विगतदेखि नै विभिन्न हतकण्डा अपनाइँदै आएको छ ।’
उहाँले क्याम्पसमा व्यापक परीक्षा सुधार तथा अनियमितता नियन्त्रणका लागि उठाइएका कदमहरु, सबै कक्षा र प्रशासनिक कोठामा सिसिटिभी जडानले आन्तरिक शैक्षिक माफियालाई असहज बनाएको बताउनुभयो । सँगै, निजी शिक्षण संस्थाहरुलाई केन्द्र बनाएर परीक्षा केन्द्र सार्ने प्रयासलाई रोक्दा पनि धेरैको स्वार्थमा चोट पुगेको जानकारी दिनुभयो ।
‘परीक्षा प्रणाली मर्यादित बनाइँदै जाँदा विद्यार्थीहरु अध्ययनमा केन्द्रित भएका छन् । तर, केही शिक्षकहरु भने निजी शिक्षण संस्थालाई प्राथमिकता दिँदै क्याम्पसको पठनपाठन बिथोल्ने प्रयत्नमा लागेका छन्,’ उहाँले भन्नुभयो ।