वीरगञ्ज । वीरगञ्जमा हनुमानको जन्म जयन्तीको अवसरमा निकालिएको शोभायात्राका सहभागी र छपकैयाका स्थानीय समुदायबीचको झडपले अवस्था तनावग्रस्त बनेपछि शनिबार साँझ साढे ६ बजेदेखि लगाएको कर्फ्यू स्थानीय प्रशासनले आइतबार राती १२ बजेसम्मका लागि बढाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शनिबार साँझ साढे ६ बजेदेखि आइतबार मध्यान्ह १२ बजेसम्म लगाइएको कर्फ्यूको समयावधि थप गरी आइतबार राती १२ बजेसम्म पुर्याइएको जनाउनुभएको छ ।
स्थानीय प्रशासन ऐेन २०२८ को दफा ६ (क) बमोजिम पूर्वमा वीरगञ्ज-१५ भेडियाही चोकदेखि पश्चिममा वीरगञ्ज-२५ सिर्सिया पुल, उत्तरमा वीरगञ्ज-१४ गण्डक चोक र दक्षिणमा वीरगञ्ज-१६ शंकराचार्य गेटसम्म कर्फ्यू लगाइएकोमा आइतबार राती १२ बजेसम्मका लागि भने पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्रमा कर्फ्यूको समयावधि बढाइएको हो ।
कर्फ्यू अवधिमा तोकिएको स्थानमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, सभा, प्रदर्शन, बैठक, घेराउ आदि गर्न नपाइने सूचनामा जनाइएको छ । तनावग्रस्त बनेको क्षेत्रको जनजीवन सामान्य पार्न तथा अमनचयन कायम गर्न कसरी सकिन्छ भन्ने विषयमा आइतबार जिल्ला प्रशासन कार्यालय पर्साका पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा सर्वदलीय बैठक बसी विभिन्न निर्णय समेत गरेको छ ।
सर्वदलीय बैठकले शान्ति अमन चयनमा खलल हुने किसिमको र्याली, बन्द जस्ता कुनैपनि गतिविधि संघ संस्था एंव समुदायले नगर्ने सामाजिक सद्भाव कायम गर्न सबै आम जनसमुदायलाई अपिल गर्ने निर्णय गरेको छ ।
त्यस्तैगरी, शुक्रबारको झडपमा घाइते भएका सुरक्षाकर्मी, सञ्चारकर्मी तथा आम नागरिक सबैको उपचार राज्यको तर्फबाट गर्नुपर्ने माग गर्ने, शनिबार निकालिएको शोभायात्रामा विवाद उत्पन्न गर्ने कार्यमा संलग्न जो सुकै भएपनि कानुनको दायरामा ल्याई कानुनी कारबाहीको माग गर्ने लगायतका तीन निर्णय सर्वदलीय बैठकले गरेको हो ।
रात्रिबजार कफ्र्युका कारण स्थगित
नयाँ वर्ष २०८२ को स्वागतमा वीरगञ्ज महानगरपालिकाले शुक्रबार २९ गतेदेखि आइतबारसम्म सञ्चालन गर्ने गरी आयोजना गरेको रात्रिबजार कर्फ्यूका कारण शनिबारदेखि नै स्थगित भएको छ ।
हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्रामा दुई समुदायबीच झडप भई स्थिती नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यू जारी गरेपछि महानगरपालिकाले रात्रि बजार स्थगित गरेको हो ।