चोङकिङ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) चोङकिङ नगर समिति स्कुल र नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समिति स्कुलबीच आपसी सहयोग आदानप्रदान तथा सहकार्य गर्ने सम्झौता भएको छ ।
आइतबार चोङकिङस्थित पार्टी स्कुलमा आयोजित समारोहमा दुई पार्टीबीच पाँच बुँदे सम्झौतामा हस्ताक्षर भएको हो । समारोहलाई सम्बोधन गर्दै माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले एमओइमा हस्तार भएपछि दुई पार्टीबीचको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तो सम्बन्धले दुई पार्टीबीच राजनीतिक, वैचारिक आदानप्रदान हुनुका साथै क्षेत्रीय सहयोग, आर्थिक याजना तथा समाजवादी क्रान्तिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास शर्माले व्यक्त गर्नुभयो । उहाँले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले दिएको प्रशिक्षणबाट चीनले दिएको आर्थिक प्रगति, समाजवादी लोकतन्त्र, गाउँस्तरमा पार्टी र जनताबीचको सम्बन्धबारे राम्रो जनाकारी प्राप्त भएको तथा चीनको पूर्वाधार विकासबाट आफु निकै प्रभावित बनेको बताउनुभयो ।
कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका निर्देशक चाङ जु जिङले नेपाल र चीनबीच सम्बन्ध कायम भएको ७० वर्ष पुगेको अवसरमा भएको यस भ्रमणले दुई पार्टीको सम्बन्ध थप प्रगाढ भएको बताउनुभयो ।
उहाँले चोङकिङ र नेपालको भूगोल, हावापानी उस्तै-उस्तै भएको चर्चा गर्दै यस्ता प्रशिक्षणबाट चीन र नेपालबीचको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पाँच दिनको भ्रमणमा चोङकिङको पूर्वाधार, पर्यटन, कृषि तथा ऐतिहासिक स्थलहरुको नेपाली टोलीले प्रत्यक्ष अवलोकन गरेको छ । तीन सेसनमा प्राध्यापकहरुले चीनले गरेको प्रगति र पार्टी र जनताबीचको सम्बन्ध लगायतका विषयमा प्रशिक्षण दिएका थिए । नेपाली टोली चोङकिङ भ्रमण सकेर सोमबार सान्सी प्रान्त जाने कार्यक्रम छ ।