काठ्माडौं। प्रथम किराँती राजा यलम्बरको हालसम्मकै ठूलो सालिक माझकिराँतमा पर्ने खोटाङको बुइपा बजारमा निर्माण गरिएको छ। कोशी प्रदेश सरकार र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको संयुक्त लगानीमा यलम्बरको सालिक स्थापना गरिएको हो।
बुइपाको हाट लाग्ने पन्चेदोबाटोमा प्रथम किराँत राजा यलम्बरको पूर्ण कदको १ सय १० फिट अग्लो सालिकको स्थापना गरिएको छ। किराँत राईहरूको बाहुल्य रहेको खोटाङ जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनलाई आकर्षण गर्ने उद्देश्यले यलम्बरको १ सय १० फिट अग्लो मूर्ति स्थापना गरिएको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका- १४ का वडाध्यक्ष दिनेश राईले बताए। उनले ३० रोपनी सरकारी जग्गामा यलम्बरको मूर्ति स्थापना गरिएको बताए।
कोशी प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको पार्क सहितको यलम्बरको कुल लागत १४ करोड रहेको छ। पार्क सहितको यलम्बरको सालिक निर्माणको काम ठेकेदार कम्पनी उमा–तुवाचुङ–अनसुवी जेभीले गरेको हो। ठेकेदार सुनिल राईले यलम्बरको सालिक निर्माणको सबै काम सम्पन्न भइसकेको र पार्कको ५ प्रतिशत काम निर्माणाधीन अवस्थामा रहेको बताए। उनले ठेक्का सम्झौता अनुसारको सबै काम सकेर यहीँ वैशाख दोस्रो हप्तामा नगरपालिकालाई हस्तान्तरण गर्ने बताए।
यलम्बरको ११० फिट अग्लो सालिक पुरै फाइबरको रहेको छ भने पार्कमा गार्डेन र पर्यटक बस्ने फलामका फर्निचर जडान गरिएको छ। सालिक सहितको यलम्बर पार्कमा प्रवेशद्वार, नगर प्रहरी बस्ने भवन, रेस्टुरेन्ट र टिकट काउन्टरको निर्माण सम्पन्न भइसकेको ठेकेदार राईले बताए।
बुइपामा निर्माण गरिएको यलम्बरको सालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो र अग्लो भएको नगरपालिकाका निवर्तमान मेयर दिपनारायण रिजालले बताए। उनले किराँत राईहरूको बाहुल्य रहेको खोटाङलाई किराँती राजा यलम्बरको सम्मान र आन्तरिक तथा बाह्य पर्यटकलाई खोटाङ भित्र्याउने उद्देश्यले आफ्नो कार्यकालमा यलम्बरको सालिक निर्माणको काम सुरु गरेको बताए। विश्वकै अग्लो यलम्बरको सालिक सहितको पार्क निर्माण भएपछि खोटाङ जिल्लाको पर्यटन प्रवर्द्धन थप टेवा पुग्ने बुइपा खिरिका स्थानीय बिचारी अधिकारीले बताए। यलम्बर पार्कको आम्दानीमध्ये ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेश सरकारको स्वामित्वमा जम्मा हुने बताइएको छ।
खोटाङको हलेसी महादेवको मन्दिर, दिक्तेलको कालिका भगवतीको मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीहरूलाई यलम्बर पार्क अर्को पर्यटकीय गन्तव्य हुने दिक्तेल नगरपालिकाका मेयर तीर्थ भट्टराईले बताए। पन्चेदोबाटोमा विश्वकै अग्लो यलम्बरको सालिक निर्माण भएपछि यहाँ पक्की घर निर्माणसँगै बजार विस्तारले गति लिन थालेको छ।