काठमाडौं । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य प्रेम आलेले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रीय विमानस्थलमा भएको घोटालाबारे संसदको सार्वजनिक लेखा समितिमा छानविनका लागि जोडदार पहल गरेपछि आफुविरुद्ध नियोजित प्रचार गरिएको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
पूर्वमन्त्री आलेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा खण्डनसहितको ध्यानाकर्षण पोष्ट गर्नु भएको छ । संघीय संसदको लेखा सम्बन्धी समिति अन्तर्गतको उपसमितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रीय विमानस्थलबारे गरेको अध्ययन, अनुगमन तथा अनुसन्धानपछि अनियमिततामा संलग्नहरुलाई कारबाही गर्न पहल गरेकै कारण आफुमाथि नियोजित प्रचार तथा मिडिया ट्रायल भएको उहाँले उल्लेख गर्नु भएको छ ।
उनले केही अनलाइन न्यूज पोर्टलको नामै उल्लेख गरेर प्रकाशित समाचारहरू नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीद्वारा गरिएको गम्भीर अनियमितता र दुराचारबाट जनध्यान हटाउने नियोजित रुपमा लेखाएको जिकिर पूर्वमन्त्री आलेले गर्नु भएको छ । अधिकारी नेपाली उड्डयन इतिहासका सम्भवतः सबैभन्दा भ्रष्ट र गैरजिम्मेवार पात्र हुन्, भनी पूर्वमन्त्री आलेले आफ्नो ध्यानाकर्षणमा उल्लेख गर्नु भएको छ ।
यस्ता संवेदनशील विषयमा विभिन्न सञ्चार माध्यमबाट यस्ता हेरफेर गर्नु अत्यन्त गैरजिम्मेवारपूर्ण कार्य भएको र यो संसदीय प्रक्रिया र जनताको सूचनाको अधिकारमाथिको खुला हस्तक्षेप ठहरिने जिकिर उहाँले गर्नु भएको छ ।
उहाँले सबै सरोकारवालालाई यस्ता संवेदनशील विषयमा गरिएका भ्रमपूर्ण समाचारमा नलाग्न र आफुहरुको सम्पूर्ण ध्यान भ्रष्टाचार, पदीय दुरुपयोग तथा जनविश्वासमाथि आघात पुर्याउने व्यक्तिहरूलाई सार्वजनिक रूपमा जवाफदेही बनाउनेतिर केन्द्रित गर्न समेत पूर्वमन्त्री आलेले आग्रह गर्नु भएको छ ।
उहाँले आफु वनमन्त्री हुँदा समेत आफ्नै खर्चमा ५० लाखको अक्सिजन सिलिण्डर किनेर विवरण गर्दा वनमन्त्रालयको रकम हिनामिना तथा दुरुपयोग गरेको भनी नियोजित प्रचार हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतले उक्त प्रयोजनका लागि वन मन्त्रालयबाट एक रुपैयाँ नगएको तथ्य प्रमाणित गरेको समेत जानकारी दिनुभयो । अहिले पोखरा विमानस्थलमा भएको भ्रष्टाचारको विषयलाई छोप्न तथा जनताको ध्यान भड्काउन सोही प्रकृतिको गलत प्रचारवाजी गरिएको आलेले बताउनु भएको छ ।
हेरौँ आलेले जारी गरेको ध्यानाकर्षण जस्ताको त्यस्तै
ध्यानाकृष्ट
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रीय विमानस्थल अध्ययन अनुगमन उपसमिति “संघीय संसदको लेखा सम्बन्धी समिति” बाट भएको अनुसन्धानपछि राटोपाटी तथा विभिन्न प्रकाशित हालको समाचारहरू नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीद्वारा गरिएको गम्भीर अनियमितता र दुराचारबाट जनध्यान हटाउने नियोजित प्रयास हो। अधिकारी नेपाली उड्डयन इतिहासका सम्भवतः सबैभन्दा भ्रष्ट र गैरजिम्मेवार पात्र हुन्। उपरोक्त संवेदनशील विषयमा विभिन्न सञ्चार माध्यमबाट यस्ता हेरफेर गर्नु न केवल अत्यन्त गैरजिम्मेवार कार्य हो, यो संसदीय प्रक्रिया र जनताको सूचनाको अधिकारमाथिको खुला हस्तक्षेप हो। म सबै सरोकारवालालाई यस्ता संवेदनशील विषयहरूलाई भ्रमित गर्ने कार्य तत्काल बन्द गर्न आग्रह गर्छु। अबको ध्यान भ्रष्टाचार, दुरुपयोग, र जनविश्वासमाथि धक्का पुर्याउने व्यक्तिहरूलाई सार्वजनिक रूपमा जवाफदेही बनाउनेतिर हुनु आवश्यक छ।
प्रेम आले
प्रतिनिधिसभा सदस्य