काठमाडौं । नेपाली फिल्म र आमामा एउटा मीठो संयोग छ । नेपालमा पहिलोपटक नेपाली भाषामा निर्माण भएको फिल्म ‘आमा’नै थियो । २०२२ साल असोज १५ गते सार्वजनिक रुपमा प्रदर्शनमा आएको यो फिल्मपछि नेपालमा फिल्म निर्माणको क्रम चल्यो । पहिलो फिल्म ‘आमा’बनेपछि धेरै निर्माताले आमामै आधारित रहेर फिल्म निर्माण गरे । पहिलो ‘आमा’देखि पछिल्लो फिल्म ‘आमा’सम्म आइपुग्दा निर्माण भएका फिल्मबारे यहाँ संक्षिप्त रुपमा प्रस्तुत गरेका छौं ।
आमा
हिरासिंह खत्रीद्वारा निर्देशित पहिलो नेपाली फिल्म ‘आमा’ तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले तत्कालीन रोयल नेपाल फिल्म कर्पोरेशनको उत्पादनको रूपमा सार्वजनिक गरेका थिए । यो फिल्ममा शिवशंकर मानन्धर, भुवन थापा (चन्द), वसुन्धरा भुसाल, हिरासिंह खत्री, भीमबहादुर थापा, हरिप्रसाद रिमाललगायतको अभिनय थियो । फिल्ममा नेपाली सेनामा काम गरेपछि घर फर्केका युवाको कथा देखाइएको छ । फिल्मको अधिकतम भागको छायांकन तथा उत्पादन पछिका कार्यहरू भारतको कोलकातामा गरिएको थियो ।
आमाको काख
विजय केरुङको लेखन तथा निर्देशन रहेको यो फिल्ममा राजेश हमाल, तृप्ती नाड्कर, निखिल उप्रेती, निरुता सिंह, वीरेन श्रेष्ठ, सज्जा मैनालीको अभिनय छ । फिल्मको छायांकन इलामको फिक्कल र भारतको दार्जिलिङ, सिक्किम, मिरिकमा गरिएको छ । यसका निर्माता लक्ष्मी क्षेत्री, दुर्गा बस्नेत, गायत्री भुटिया, लाक्पा डोमा भुटिया, सुशीला क्षेत्री र सीता दाहाल हुन् ।
आमाको आशीर्वाद
आमाकै कथा वरपर रहेर निर्देशक दीपक श्रेष्ठले यो फिल्म निर्देशन गरेका हुन् । फिल्ममा राजेश हमाल, निरुता सिंह, दीपक श्रेष्ठ, वसुन्धरा भुषाल, दिलीप रायमाझी र रेखा थापाको अभिनय छ ।
मेरी आमा
निर्देशक रवी अर्यालको लेखन र निर्देशन रहेको यो फिल्ममा दिलीप रायमाझी, झरना थापा, सुनील दत्त, सुमिना श्रेष्ठ, अर्जुन श्रेष्ठ, सुशीला रायमाझी, मिथिला शर्मा, किरण केसी, हिउँवाला गौतम र सुरवीर पण्डितको अभिनय छ । फिल्मका निर्माता सैलेश दत्त पाण्डे र र रमेश मानन्धर हुन् ।
बुवा आमा
निर्देशक मदन घिमिरेको निर्देशन रहेको यो फिल्ममा विराज भट्ट, दिलीप रायमाझी, अरुणिमा लम्साल, सुशील पोखरेल, गणेश उप्रेती, हिउँवाला गौतम, मुकुन्द थापालगायतको अभिनय थियो । फिल्मका निर्माता मुरारी पोखरेल, योगेश लामिछाने, रम्बा ओली, सुरेश हमाल, मनोज लामिछाने हुन् ।
मेरी मामु
आसुसेन फिल्मस्ले निर्माण गरेको फिल्ममा यम थापाको कथा र निर्देशन छ । बाल मनोविज्ञानमा आधारित फिल्ममा आयुव सेन, अश्लेशा ठकुरी, सारुक ताम्राकार, कुसुम गुरुङ, दुर्गा मल्ल र भुवन चन्दको अभिनय छ ।
आमा
दीपेन्द्र के खनालको लेखन र निर्देशन रहेको यो फिल्म २०७६ चैतमा प्रदर्शनमा आएको हो । शर्मिला पाण्डे निर्माता रहेको फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल र मनीष निरौलाको अभिनय छ ।