काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सत्तामा रहेका दलहरु काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको टिप्पणी गरेका छन् ।
एकीकृत समाजवादीको ७६ औँ स्थापना दिवसको अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले सत्ता गठबन्धनका प्रमुख घटक एमाले–कांग्रेसदेखि विपक्षी सहयात्री दल नेकपा माओवादी केन्द्रसम्मको आलोचना गरेका हुन् ।
उनले भने, ‘यत्रो आन्दोलन चलिरहेको छ । निरो बाँसुरी बजाएर बस्नु भएको छ, कमरेड ओली । बैशाख ११ गते आइलभयू केपी बा भन्ने रे ! कमरेड केपी हाम्रो हिसाब देऊ, लोकतन्त्रमा यो तहको आक्रमण गरेको हिसाब देऊ भन्नुपर्ने हो र,’उनले थपे, ‘सारा संकटले देश डुब्दैछ । उनलाई नाम चाहिएको छ । एक लाख मान्छे जम्मा भएर ‘केपी बा’ भनिदिउन भन्ने अपेक्षा गर्नुभएको छ । त्यो तहमा पुग्ने नेताका लागि, यो तहको आकांक्षा हुनु देशको दुर्भाग्य होइन ?’
साथै उनले शिक्षकको आन्दोलन चलिरहेका बेला उनीहरूका जायज माग सम्बोधन गर्नुको साटो शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको बताए । उनले देशमा उकुसमुकुस निराशाको अवस्था रहेको र त्यही मौकामा पुनरुत्थानवादी र अराजक तत्वहरूले टाउको उठाउन खोजेको भन्दै आलोचना गरे ।
देशमा निराशा बढ्यो : झलनाथ खनाल
यसैगरी नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले देश समाजवादी दिशातर्फ रुपान्तरण नहुँदा जनताहरुमा निराशा बढेको बताए ।
उनले अहिले देशमा विभिन्न वर्ग र तहका जनताहरुमा असन्तुष्टि बढिरहेको बताए ।
उनले भने, ‘यो देशमा जुन रुपान्तरण गर्नुपर्थ्यो त्यो भएको छैन । नयाँ ढंगले देशको स्थिति विश्लेषण हुनुपर्ने हो । नयाँ नीति, नियम निर्माण गर्नुपर्ने हो । विस्तारै यो देशलाई समाजवादी दिशातर्फ रुपान्तरण गर्नुपर्ने थियो तर त्यो कुराहरु केही पनि हुन सकेको छैन । जसका कारण जनताहरुमा निराशा बढेको छ, आक्रोश बढेको छ । र जनता विभिन्न आन्दोलनमा उत्रिन थालेका छन् । शिक्षकहरु आन्दोलनमा छन् । विभिन्न वर्गका जनताहरु अहिले आन्दोलनमा छन् । यो आन्दोलनको दायरा प्रत्येक दिन बढिरहेको छ । विभिन्न वर्ग, तह असन्तुष्ट भएका छन् ।’