काठमाडौं । साताको पहिलो कारोबार दिनमा झिनो शेयर बजार मापक नेप्सेमा सुधारले निरन्तरता पाएको छ । गएको साता अन्तिम कारोबार दिनमा सामान्य अंकले बढेको बजार आइतबार पनि सोही आसपासमा बन्द भएको हो । पछिल्लो समय शेयरबजारका लगानीकर्ता निराश छन् । नियामक निकायको नीतिगत पोलिसीको चेपुवामा परेपछि लगानीकर्ता निराश भएका हुन् ।
लगानीकर्ताको मनोबल कमजोर बन्दै जाँदा शेयरबजारले सुधारको गति लिन सकेको छैन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२६ अकंले बढेर १९७४.५० बिन्दुमा बन्द भएको छ । आइतबार ३११ कम्पनीको ७८ लाख ५७ हजार ३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १५ करोड ५१ लाखद ४२ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन १० उपसूचकमा हरियाली आएको छ । आइतबार निर्जीवन बीमा समूहको २.६४ प्रतिशत, विकास बैंक समूहको १.०४ प्रतिशत, जीवन बीमा समूहको १.२५ प्रतिशत, बैंकिङ समूहको ०.४३ प्रतिशत, हाइड्रोपावर समूहको ०.१६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१५ प्रतिशतले शेयर मूल्य बढेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको १० करोड ५० लाख ६० हजार रुपैयाँ, पोखरा फाइनान्सको ८ करोड ६ लाख रुपैयाँ, सोनापुरको ८ करोड ५ लाख रुपैयाँ र शिवम सिमेन्टको ७ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।
उता, सिर्जनशिल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । उन्नती सहकार्य लघुवित्तको ७.५२ प्रतिशत, युनाइटेड अजोडको ५.६९ प्रतिशतले शेयर मूल्य बढेको छ ।