सिराहा। सिराहाको लहान नगरपालिका–१५ र १८ स्थित सामुदायिक वनमा ताल तथा पोखरी निर्माण र संरक्षणमा सरोकारवालाहरु जुटेका छन् । केयर नेपालको आर्थिक सहयोग तथा लहान नगरपालिकाको समन्वयमा सामुदायिक वन महासङ्घ नेपाल र राष्ट्रिय कृषक समूह महासङ्घ नेपालले ताल तथा पोखरी संरक्षणका लागि स्थानीयस्तरमा काम गरिरहेको सामुदायिक वन महासङ्घ सिरहाका सचिव रुद्रनारायण चौधरीले जानकारी दिनुभयो । चुरेको फेदीमा रहेको लहान – १५ र १८ मा पर्ने मुतनीखोला जलाधर संरक्षण परियोजना सञ्चालित रहेको छ ।
सुक्दै गएको भूमिगत पानीको सतहलाई ‘रिचार्ज’ गर्ने तथा पर्यावरणलाई जोगाइराख्ने उद्देश्यले यस परियोजना सञ्चालन गरिएको सचिव चौधरीले बताउनुभयो । “दिनानुदिन चुरे विनाश तथा प्राकृतिक स्रोतसाधनको दोहन बढ्दै गएको छ । यसलाई नियन्त्रण तथा मानव निर्मित पोखरी र तालहरुको संरक्षण गर्न यस अभियान सञ्चालन गरिएको हो,” चौधरीले भन्नुाभयो, “यी ताल तथा पोखरीले सहर तथा ग्रामीण क्षेत्रका पानीका स्रोत मात्र नभई पर्यावरण जोगाइराख्न पनि उत्तिकै भूमिका निर्वाह गर्दछन् ।”
सचिव चौधरीका अनुसार यहाँ चुरे पर्वतबाट सुरु भई बहने मुतनीखोलासँग जोडिएका नौवटा सामुदायिक वन रहेका छन् । अहिले पाँचवटा सामुदायिक वनमा पोखरी निर्माण गर्ने काम महिनादिनदेखि चलिरहेको छ जसमा चारवटा पोखरी निर्माण र मुतनीखोला संरक्षणका लागि तटबन्ध निर्माण कार्य जारी रहेको सचिव चौधरीले जानकारी दिनुभयो ।
चुरे क्षेत्रको संरक्षण गरी तराइक्षेत्रलाई मरुभूमिकरण हुनबाट जोगाउन ताल तथा पोखरी संरक्षण अभियान फलदायी रहने विश्वास लहान नगर प्रमुख महेशप्रसाद चौधरीले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नगरप्रमुखको हैसियतमा मेरै संयोजकत्वमा यस अभियान सञ्चालन भइरहेको छ । यहाँ सुक्दै गएको पानीको स्रोतलाई पुनः रिचार्ज गर्न यो अभियान महत्वपूर्ण हुने ठानेको छु । यसमा अपुग रकम नगरपालिकाले व्यवस्थापन गर्ने छ ।”
त्यसगरी नगरप्रमुख चौधरीले चुरे क्षेत्रका जलाधारक्षेत्र अर्थात् नदी, ताल, तलैया, पोखरी, सिमसार क्षेत्र तथा त्यसक्षेत्रसँग जोडिएको भूमिको एकीकृत रूपमा संरक्षण र व्यवस्थापनमार्फत स्वच्छ जलाधारक्षेत्र कायम गरी दिगोरूपमा उपयोग गर्नका लागि सङ्घीय सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।