कास्की। पोखरामा दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवाको पहुँच पुर्याउने र उनीहरूको जीवनलाई सुखी र खुसीसहित तनावमुक्त बनाउने उद्देश्यले पोखरामा वडा नागरिक आरोग्य कार्यक्रम सुरु गरिएको छ ।
पोखरा महानगरपालिकाले ‘पाइलट प्रोजेक्ट’को रूपमा यो कार्यक्रम वडा नं २५ बाट थालेको हो । घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने गरी उक्त कार्यक्रम शुभारम्भ गरिएको हो । प्रभावकारिता हेरेर नागरिक आरोग्य कार्यक्रम महानगरभर विस्तार गर्ने योजना महानगरपालिकाको छ ।
पोखरा महानगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं १५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले यस कार्यक्रमका लागि घरधुरी सर्वेक्षणको काम सकिएको बताउनुभयो । दीर्घरोगी तथा ज्येष्ठ नागरिकको अवस्था, उनीहरूको स्वास्थ्य, औषधी सेवनमा नियमिततालगायतका विषय वडाबाट खटिएका स्वास्थ्यकर्मीले जानकारी लिने उहाँले बताउनुभयो ।
ज्येष्ठ नागरिकको रक्तचाप, अक्सिजनको मात्रा, मधुमेहलगायत परीक्षणसमेत गर्ने कार्यक्रम रहेको वडाध्यक्ष तिमिल्सिनाले बताउनुभयो । यस कार्यका लागि वडालाई तीन वटा क्लस्टरमा विभाजन गरी काम थालिएको छ । आइतबारदेखि सुरु भएको अभियानको पहिलो दिन ७१ परिवारका एक सयभन्दा बढी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।
प्रयोगशाला परीक्षणसहितको उक्त सेवाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था पत्ता लगाउन र आवश्यक परेको खण्डमा उपयुक्त स्वास्थ्य सेवा तथा परामर्श दिन सहज हुने बताइन्छ । महानगर प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्षका लागि नीति र बजेटको तयारीमा महानगर रहेको उल्लेख गर्दै स्वास्थ्य महानगरको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
“नागरिक आरोग्य कार्यक्रमको प्रभावकारी हेरेर क्रमशः अन्य वडाका अलवा महानगरपालिका भर नै विस्तार गर्नेछौँ । ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण घरघरमा र अन्यको हकमा महानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा प्रयोगशाला परीक्षणको सुविधासहित सेवा प्रदान गर्ने योजना छ”, उहाँले भन्नुभयो ।
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले स्वास्थ्यसम्बन्धी जागरण नागरिक स्तरमा आवश्यक रहेको बताउनुभयो । स्वास्थ्यकर्मीको एकल प्रयासले मात्र नागरिक सचेतना अभिवृद्धि सम्भव नरहेको उल्लेख गर्दै उहाँले आमसरोकारवाला हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । स्वस्थ महानगर निर्माणका लागि सबै नागरिकमा स्वास्थ्य सचेतना र सेवा पहुँच आवश्यक रहेको उहाँले बताउनुभयो ।
दीर्घरोगी र ज्येष्ठ नागरिकको जीवनलाई सुखी र खुसीसहित तनावमुक्त बनाई थप उपचारको आवश्यकता देखिएका ज्येष्ठ नागरिकलाई सुविधा सम्पन्न सेवा क्षेत्रमा प्रेषण गर्ने उद्देश्यले यस प्रकार कार्यक्रमको थालनी गरिएको हेमजा स्वास्थ्यचौकीका प्रमुख सिनियर अहेव कुश्मराज सुवेदीले जानकारी दिनुभयो ।