काठमाडौं । नेपाल धितोपत्र बोर्डले जेठ १ गते (भोलि)देखि घटेको ब्रोकर कमिसनदर लागु गर्दै छ । योसँगै लामो समयदेखि ब्रोकर कमिसन घटाउन माग गर्दै आएका लगानीकर्ताले राहत महशुस गर्ने छन् ।
न्यूनतम कारोबारका आधारमा ०.२४ देखि अधिकतम ०.३६ प्रतिशत कमिसन निर्धारण गरिएको छ । यसअघि, न्यूनतम ०.२७ र अधिकतम ०.४० प्रतिशतसम्म कमिसन लिने गरिएको थियो । अब घटेको बजारमा ब्रोकरहरूको आम्दानीमा कमी आउने निश्चित छ ।
ब्रोकर कमिसन घटाउने निर्णय समय सान्दर्भिक नभएको भन्दै कतिपय लगानीकर्ताले असन्तुष्टि जनाएका छन् । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले ब्रोकर कमिसन घटाउन लगानीकर्ताले वर्षौँ अघिदेखि माग गर्दै आएको बताउनुभयो ।
ब्रोकर कमिसन घट्नु लगानीकर्ताका लागि सुखद कुरा भएको भए पनि बजार विकासका लागि यो पर्याप्त नभएको उहाँको भनाइ छ । नवप्रवेशी लगानीकर्ता बजारबाट बाहिरिएको उहाँले बताउनुभयो । ती लगानीकर्ता फर्काउन सरकारले उचित नीतिगत सुधार गर्नुपर्नेमा उहाँको जोड छ । पूँजी बजारको विस्तारका निमित्त सरकारले बजेटमा नै प्याकेज ल्याउनुपर्ने उहाँको भनाइ छ ।
शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुलेल ब्रोकर कमिसन घटाएर मात्र बजार माथि उठ्न नसक्ने बताउनुहुन्छ । ‘ब्रोकर कमिसन घट्नु लगानीकर्ताका लागि खुसीको कुरा हो । तर, यो मात्रै अहिलेको समस्याको पर्याप्तता हैन । तर, नेपाल राष्ट्र बैंकले जसरी लोनको सीमा तोकेको छ, यसले बजारलाई प्रभाव पारेको छ ।’
५० हजार रुपैयाँसम्मको कारोबारमा यसअघि ०.४० प्रतिशत कमिसन लाग्दै आएको थियो । अब भने ०.३६ प्रतिशत लाग्नेछ । ५० हजारभन्दा माथि पाँच लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत कमिसन लाग्दै आएको थियो । अब ०.३३ प्रतिशत लाग्नेछ ।
पाँच लाखभन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन लाग्दै आएको थियो । अब ०.३१ प्रतिशत लाग्नेछ । २० लाखदेखि एक करोडसम्मको कारोबारमा अब ०.२७ प्रतिशत कमिसन लाग्नेछ । यही कारोबारमा यसअघि ०.३० प्रतिशत लाग्दै आएको थियो ।
यसअघि, एक करोडभन्दा माथि जतिसुकै कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्दै आएको थियो । अब ०.२४ प्रतिशत ब्रोकर कमिसन लाग्नेछ । ब्रोकरको मात्र कमिसन घटाइएको भनेर पनि कतिपय असन्तुष्ट छन् । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लिने कमिसन पनि घटाउनुपर्नेमा नेपाल स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष धर्मराज सापकोटा जोड दिनुहुन्छ । ब्रोकरको आम्दानीमा प्रहार गरिएको उहाँको टिप्पणी छ ।
नयाँ ब्रोकरको नेतृत्व गरिरहनु भएका सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष तथा धितोपत्र ब्रोकर एशोसिएशन नेपालका महासचिव कृष्ण गिरीले बोर्डको निर्णय बजारको विकास, लगानीकर्ताको आत्मबल बढाउन र उनीहरूको हितमा भएकाले अब कारोबार रकम बढ्ने आशा व्यक्त गर्नुभयो ।
बजार विकासका निम्ति भन्दै केही समयअघि अर्थमन्त्री वर्षमान पुनले सुझाव माग्नु भएको थियो । तर, अहिलेसम्म बजारको विकासका लागि उपयुक्त कदम चालेको देखिँदैन । सरकारले जेठ १ गते नीति तथा कार्यक्रम र जेठ १५ मा बजेट ल्याउने तयारी गरेको छ ।