पहिलो पटक काठमाण्डौ आउँदा एउटा जेब्रा झोलासँगै थुप्रै सपनाका पोकाहरू थिए, काठमाण्डौ आएपछि भेट्न भनेर बनाएको लामो सूची थियो, कहिलेकाहीं फोनमा/सोसल मिडियामा कुरा हुने मान्छेहरूको सूची… !
आएको भोलिपल्ट एकजनालाई फोन गरें, उताबाट प्रस्ताव आयो : ‘फ्रि हो? भृकुटीमण्डपमा भेटौं ।’
त्यसयता भृकुटीमण्डपमा भएका धेरै भेटहरू छन्, नेतासँग, लेखकसँग, पत्रकारसँग, साथीसँग…।
कहिलेकाहीं मन मिल्ने मान्छेसँग चौरको बीचमा चिया खाँदै प्रेमालाप गरेका सम्झनाहरू पनि छन् ।
भृकुटीमण्डपका अनेक रंगहरू छन्, हरेक पटक जाँदा त्यहाँ केही न केही मेला लागिरहेको हुन्छ, खाली भएको बेला चौरभरी बसेर चिया खाँदै देशको कुरा गरिरहेको मान्छेहरूको मेला हुन्छ, त्यहाँको चौरलाई ‘स्ट्रिट पार्लिमेन्ट’ भन्दा पनि हुन्छ ।
भृकुटीमण्डपको नजिकै देशका ठूला क्याम्पसहरू छन्, ती क्याम्पसका विद्यार्थीहरू चिया खान भृकुटीमण्डप आउँछन्, पहिला पहिला उनीहरू देशको राजनीतिको कुरा गर्थे, अचेल उनीहरूको विषय केही फेरिएको छ, … अहिले उनीहरू चिया खाँदै उनीहरूका साथीहरूको कुरा गर्छन्, ती साथीहरू जसले ठूलो प्लेन चढेका छन् ।
गेट बाट छिर्नेबित्तिकै जुत्ता मेला, अलि अगाडि गएपछि बाइकको एक्सचेन्ज अफर सहितको मेला, दाहिनेपट्टि लहरै चियापसल, त्यसको पछाडि नवयुवाहरूको निराशाको खेती, भृकुटीमण्डपमा लगातार यस्तै दृश्य दोहोरिन थालेको छ ।
यस्तो लाग्छ, भृकुटीमण्डप पाक्दैगरेको देशबाट निकालेको एक सिता देश हो ! जसलाई छामेर पुरै देशको अवस्था जाँच्न सकिन्छ ।
लामो समय पछि हिजोको भृकुटीमण्डपको परिदृश्य फरक थियो, छिर्ने बित्तिकै निर्माण हुँदै गरेको भव्य मञ्च, चउरभरी भ्याई नभ्याई यताउति गरिरहेका रातो रंगका नवजवानहरू.. एकैछिनमा एक हजार बढी रातो टिसर्ट लगाएका नवजवानहरू दुई लाइन भएर गेटबाट निस्किए, पुतलीसडक- बागबजार हुँदै त्यहीं फर्किए, देख्नेहरूले थाह पाए- जेठ एकदेखि भृकुटीमण्डमा अर्को नयाँ मेला लाग्दैछ -'विद्यार्थी महोत्सव' ।
चिया खाँदै 'शुभयात्रा' लेखिरहेका तिनै युवाहरू उपस्थित गराएर आजबाट भृकुटीमण्डपमा भनिँदैछ - ' यहाँ यी-यी सम्भावनाहरू छन्, देशमै बसौं ।'
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिनकै चाप बढ्दो छ, बागबजारमा यो हप्ता मात्रै कति कन्सल्टेन्सी खुले होला, यतै कुनै होटलमा बसेर नयाँ कन्सल्टेन्सी खोल्ने योजना बनाउँदै गरेका व्यावसायी(?) हरूलाई, चौरको पछाडिपट्टि एक हातमा दूध चिया बोकेर अर्को हातले देश छानिरहेका नवजवानहरूलाई डिस्टर्ब गर्दै आजबाट अनेरास्ववियुले भनिरहेछ - 'देशमै बस, यहाँ धेरै गर्न सकिन्छ ।'
आफ्नो ६० औं स्थापना दिवसको अवसरमा अनेरास्ववियुले भृकुटीमण्डपमा तीन दिने विद्यार्थी महोत्सव राखेको छ । महोत्सवमा सयौंको संख्यामा यहाँका शैक्षिक संस्थाका स्टलहरु र विश्वविद्यालयका स्टलहरु रहनेछन्, मञ्चमा 'देशमा किन बस्ने?' 'शैक्षिक सुधार कसरी गर्ने?' 'नवजवानहरूको दायित्व के हुने' भन्ने किसिमका छलफल हुन्छन्, युवाहरुले रुचाएका कलाकारहरूले धूलो उड्नेगरी मञ्च तताउँछन्, एकातिर यहाँका विद्यार्थीहरूले बनाएका रोबोटले फुटबल खेल्छन्, स्कूल कलेज पढ्ने विद्यार्थीहरू कम्प्युटर स्क्रिनमा बसेर ई-सपोर्ट कम्पिटिसनमा सहभागी बन्छन्, कविता सुन्छन्, गजल सुन्छन्, देशभरका कला संस्कृति झल्किने प्रस्तुतिहरु हेर्छन्, देख्छन्-आफ्ना उमेरका मान्छेहरू देशमा अझै बाँकी छन्।
भर्खर एसईई या प्लस टू सकाएर काठमाण्डौ छिरेका विद्यार्थीहरूले आफ्नो लागि कलेज छान्छन्, रातो टिसर्ट लगाएका युवाहरुले सहजीकरण गर्छन्।
फिजिकल र भर्चुअल गरी अनेरास्ववियुले यो कार्यक्रम लाखौं विद्यार्थीसामू पुर्याउने लक्ष्य राखेको छ । देश छोड्न भनेर उठेका जवान पाइलाहरू पछि हटून्, देश छोडेर गएका देशका भविष्यहरू फर्किउन्, बारी यहाँ पनि बाँझो छ, सिंचाई शुरूमा यहाँ चाहिएको छ, बा आमालाई अप्ठेरो पर्दा आफ्नै माटोमा आफ्नै काखमा सन्तान भेटियोस्, अनेरास्ववियुले लक्ष्य राखेको छ ।
जेठको १, २ र ३ गते, यो तीन दिन तपाईं 'फ्री हो? भृकुटीमण्डपमा भेटौं।'
(लेखक अनेरास्ववियुका केन्द्रीय सदस्य हुन् ।)