काठमाडौं । लक्ष्मण सारस, जसले जाडो छल्नका लागि नेपाल नै रोज्छ । सारस प्रजातिभित्र मध्यम आकारको पक्षी हो, लक्ष्मण । जाडो महिनामा नेपालका तराई क्षेत्रमा यो चरा सजिलै हेर्न पाइन्छ । विशेषगरि कोशी, नारायणी, राप्तीका बगरलगायत विभिन्न स्थानमा यी भेटिन्छन् ।
सामान्यतया सारसलाई सिमसार क्षेत्रको सूचक ‘प्रजाति’ मानिन्छ । सारसको उपस्थितिले सिमसार क्षेत्र र पारस्थितीय प्रणाली स्वस्थ रहने बताइन्छ । मानव जीवनका लागि सिमसार अति आश्वयक छ । सिमसार जोगाउन सारस संरक्षण जरुरी रहेको यसमामिलाका जानकारहरु बताउँछन् ।
अंग्रेजीमा कमन क्रेन (ग्रस ग्रुस), र युरेशियन क्रेन पनि भनिने यो ग्रुइडे परिवारको चरा हो । लक्ष्मण सारस, सारस प्रजातिका ४ मध्ये विलुप्त हुने खतरामा नपरेको चरा हो । यो १००-१३० सेमी लामो, यसको पखेटा १८०-२४० सेमी सम्म हुन्छ । यसको शरीरको तौल औसत साढे ५ किलोसम्म हुन्छ । यसको जिउडाल समग्रमा खरानी रङ्गको हुन्छ ।
टाउकोमा कालो, रातो र आँखाको पछाडिबाट माथिल्लो भागसम्म फैलिएको सेतो धर्कासहित कालो रङको हुन्छ । समग्र रङ पछाडिको भागमा सबैभन्दा गाढा र छाती र पखेटामा फिक्का हुन्छ ।
लक्ष्मण सारस युरोप र साइबेरियादेखि उत्तरी चीन, टर्की र काकेशस क्षेत्रसम्म पाइन्छ । यसको आयु ३० देखि ४० वर्षसम्म हुने बताइन्छ । लक्ष्मण सारस, सामाजिक पक्षी पनि हो । बसाइँसराइका बेला ४०० वटासम्म चराको बगाल एकसाथ उडेको देख्न सकिन्छ ।