काठमाडौं । बीपी राजमार्ग अन्तर्गत सिन्धुली-बर्दिबास हुँदै यात्रा गर्नेहरुलाई रसिलो, सजिलो र छरितो कोसेली हो, जुनार । त्यसैले ओहोरदोहोरमा जो कोहिले दुई-चार किलो जुनार बोकिहाल्छन् । जुनार भन्नासाथ सिन्धुलीको नाम जोडिन्छ ।
जसरी पेंडा भन्नेवित्तिकै बरमझिया जोडिन्छ, स्याउको नाम लिनासाथ मुस्ताङ आउँछ । र, जसरी चियाको नाम लिने वित्तिकै कन्यामको बगानतिर मन बग्छ । त्यसैगरी सिन्धुलीको जुनार बीपी राजमार्गमा प्रख्यात छ । हुन पनि नागबेली राजमार्ग जुनारै-जुनारले हराभरा छ । र, पाक्दा पहेंलपुर हुन्छ । हरेकजसो बिसौनीमा जुनार किनबेचको मेला नै लागिरहेको भान हुन्छ ।
२००७ सालमा प्रजातन्त्र आएपछि तत्कालीन सरकारले देशका विभिन्न क्षेत्रलाई ‘कृषि क्षेत्र’को रुपमा विकास गरेर सोही अनुरुप माटो अनुकूल खेती प्रोत्साहन गरेको देखिन्छ । सोही अन्तर्गत सिन्धुलीको चिसापानी जुनार उत्पादनका उपयोगी मानियो ।
अहिले सिन्धुली र जुनार एकअर्काको पर्याय भएको छ । जुनार भन्नासाथ धेरैले सिन्धुली सम्झिन्छन् र सिन्धुली सम्झनासाथ धेरैले जुनार कै कुरो झिक्छन् । सिन्धुलीको जुनार जसरी ब्रान्डिङ भइरहेको छ, त्यहि अनुपातमा यसको उत्पादन पनि बढ्दो छ ।
यो वर्ष मात्र सिन्धुलीमा ९ हजार ९ सय मेट्रिक टन जुनार उत्पादन भएको तथ्यांक छ । जुनारको मुख्य सिजन मंसिरदेखि सुरु भएर फागुनसम्म रहन्छ । बजारमा अहिले जुनारको सरदर मूल्य प्रतिकिलो १२० रुपैयाँदेखि १५० रुपैयाँसम्म छ ।
जुनारको असली स्वाद
‘उही असली बाजेको पेंडा’ भने झैं स्वादका पारखीहरुले पनि जुनारको असली स्वाद खोज्न थालेका छन् । अहिले बजारमा अन्यत्रबाट जुनार ल्याउने भए पनि ‘सिन्धुलीको जुनार’को नाम दिएर विक्री गरिन्छ । जुनार सुन्तला प्रजातिकै फल हो । यद्यपि चाख्नेहरुलाई थाहा छ, सुन्तला जस्तो देखिए पनि यसको स्वाद केही फरक छ । यसमा मन्द गुलियो र आंशिक अमिलो स्वादको मिश्रण छ ।
यसै सिलसिलामा हालै मात्र काठमाडौंमा सिन्धुलीको असली जुनारको स्वाद चखाउने हेतुले मेला आयोजना गरियो । रैथाने र ग्रीन ग्रोथको सहकार्यमा आयोजित मेलामा सिन्धुलीको जुनार र त्यसबाट बन्ने विभिन्न पेय एवं परिकार राखिएको थियो ।
मेलामा जुनारबाट बन्ने विभिन्न दश किसिमको परिकार उपलब्ध थियो । जस्तो कि, साँधेको जुनार, जुनार केक, जुनार जेली, जुनार जुस । सिन्धुलीको जुनारलाई बजार प्रवर्द्धन गर्न र पारखीलाई असली स्वाद चखाउनका लागि मेलाको मेलोमेसो मिलाइएको ग्रीन ग्रोथका सौरभ ढकालले जानकारी दिए ।
जुनारमा के पाइन्छ ?
जुनार पोटासियम र भिटामिटी सीको उपयुक्त स्रोत हो । पोटासियम र भिटामिन सी मुटुको लागि लाभदायक पोषक तत्व मानिन्छन् । भिटामिन सीले खराब कोलेस्टेरोल नियन्त्रण गर्न समेत सहयोग गर्छ ।