काठमाडौं । आर्थिक वर्षको करिब उत्तरार्धतिर आएर शेयर बजार मापक नेप्सेमा अंकगणितीय सुधार आएको छ । जेठ महिनाको पहिलो दिन १ गते मंगलबार शेयर बजार मापक नेप्से परिसूचक २८ अंकले बढेर दुई हजारको विन्दुमा उक्लियो । भोलिपल्ट बुधबार बजार खुलेको ३० मिनेटभित्र दोहोरो अंकको सुधार देखियो । तर, नेप्सेमा यसरी आएको अंकगणितीय उछाल क्षणिक भएको बताइँदैछ ।
नेपाल स्टक एक्सचेन्जका पूर्वप्रमुख चन्द्रसिंह साउँदले आर्थिक वर्षको उत्तरार्धतिर लगानीकर्तामा सामान्य उत्साह बढ्नु स्वभाविक भए पनि नेप्सेको अंकगणितीय सुधार क्षतिक भएको बताउनुभयो । सरकारको नीति तथा कार्यक्रम, घटेको ब्रोकर कमिसन लागू, सरकारको सक्रियता र मौद्रिक नीतिले गर्ने सम्बोधनलगायत कारणले नेप्से नेप्से उचालिएको भनिहाल्न नमिल्ने उहाँको भनाइ छ ।
नेपालकभरसँग उहाँले भन्नुभयो, ‘लगानीकर्ताको सेन्टिमेन्ट प्रमुख कुरा हो । तर, अहिले नेप्से उचालिनुको कारण अर्कै छ । पछिल्लो समय साना लगानीकर्ताको सेयर सस्तोमा उठाएर नाफा कमाउने दाउमा रहेका झुण्डहरु सल्वलाएका कारण नेप्से उचालिएको देखिन्छ । यो, क्षणिक हो । दीर्घकालीन किन होइन भने, बजार आफ्नै किसिमले सुध्रिएर जानुपर्दथ्यो । त्यस्तो देखिएन ।’
सरकारले पोलिसी ल्याइदिने र राष्ट्र बैंकलगायतका नियामकले वातावरण बनाइदिने हो भने बजारमा सुधार हुन यो वा त्यो कारणहरु खोजिरहन नपर्ने उहाँको भनाइ छ । राष्ट्र बैंकले लगाएका क्यापहरु नहट्दासम्म बजार आफ्नो लयमा हिँड्न सक्दैन, साउँद भन्नुहुन्छ, ‘ब्रोकरको कमिसन घटेर बजारमा तात्विक असर पर्दैन ।’
आयको वितरण नै असमान भइराखेका बेला नेप्सेको अंकगणितीय उछालका पछाडि क्षणिक नाफाको गन्धबाहेक अरु हुननसक्ने उहाँको धारणा छ । शेयर बजारमा लाखौँ लगानीकर्ता छन् भन्ने भ्रम छरिएको भए पनि वास्तविक एक डेढ सय लगानीकर्ताले बजारलाई उभ्याइरहेका छन् । राष्ट्र बैंकले लगाएको क्यापका कारण ती लगानीकर्ताहरु समेत रिक्समा छन् ।
नेपाल इन्भेस्ष्टर्श फोरमका पूर्वअध्यक्ष एवं शेयर लगानीकर्ता छोटेलाल रौनियारले भने घटेको ब्रोकर कमिसन लागू हुनासाथ लगानीकर्तामा सकारात्मक प्रभाव परेको बताउनु भएको छ । पहिले यस्तो नियम लागू हुने नहुने शंकाले दोधार बनाउँथ्यो, उहाँ भन्नुहुन्छ, ‘यो पल्ट साँच्चिकै लागू भयो । सरकारले ल्याएको नीति तथा कार्यक्रमले पनि पूँजी बजारलाई उचित सम्बोधन गर्ने भनेका कारण पनि बजारमा सकारात्मक मनोविज्ञान छिरेको छ ।’
सबै समूह र उपसमूहमा न्यूनतम सुधार भएको र लगानीकर्ताको मनोबल बढेको उहाँको भनाइ छ । ब्रोकर कमिसन, नीति तथा कार्यक्रम, मौद्रिक नीतिले गर्ने सम्बोधन र धितोपत्र बोर्डले नेतृत्व पाउने ज्ञारेन्टीलगायत कारणले पनि नेप्सेमा सुधार देखिएको रौनियारको धारणा छ । मंगलबार बैंकिङ समूह नबढे पनि माइक्रोफाइनान्स उल्लेख्य बढ्यो, उहाँ अगाडि भन्नुहुन्छ, ‘अस्तिसम्म लगानीकर्ताको मनोबल कमजोर थियो । अहिले, बजार पोजेटिभ बनेको छ ।’