बैशाख ४ गते मंगलबार बिहानै देखि अनलाईमा खबर आए । प्रकट पंगेनी बिरामी । अर्को समाचार आयो, बिरामी प्रकट पंगेनीलाई अस्पाताल लगिदै । खर्चको अभाव । फेरि अर्को समाचार आयो । प्रकटलाई भाईरल ज्वरो सँगै जण्डिसको संक्रमण । प्रकट अहिले पोखरा मनिपालको आईसियुमा । प्रकट दाई सम्बन्धीत समाचार शिर्षक छिन छिनमै फेरिदै गए । पोखरा मनिपाल कोमामा प्रकट । मेरो मन आत्तियो । ओठ तालु सुक्यो । धड्कन बढ्यो । दाईको नम्बरमा फोन गरे । कोहि महिलाको आवाज आयो । म यताबाट हेल्लो हेल्लो मात्रै भन्दै थिएँ । उताको आवाज केहि बुझिन । फोन काटियो । ढुकढुकी झन् बढ्यो ।
भगवानलाई सम्झिएँ । प्रार्थना गरे । कुनै नराम्रो खबर सुन्न नपरोस् भनेको तर धेरै बेर बिताउनै पाईन । एक्कैछिनमा मैले पत्याउनै नसकिने खबर सुने । साँझ ढल्किन नपाउँदै प्रकटदाई देवताले बोलाएको खबर आयो । मन रोयो । मस्तिष्कमा शुन्यता छायो । कसैसँग पनि केहि भन्न सकिन । मन मनै भने बुढा वाई वाई !
त्यसपछि चैं मेरो दिमागमा झल्झझी प्रकटदाईसँगका संगतको कुरा आयो । सम्भवत मैले पहिलो पटक ६४ सालमा प्रकटदाईलाई भेटेको हो । सायद पुरानो बानेश्वर गुरुकुलमा हुनुपर्छ । लगतै गुरुकुलको छोटो भेटघाटलाई हामीले निरन्तरता दियौं । अनि नयाँ बानेश्वर चोकैमा तत्कालिन रेडियो अडियोको प्रशारण केन्द्रमा भेट्यौं । गफियौं । एक आपसमा अझै नजिक भयौं । सपना बढ्यौं । अनुभव सुनायौं । प्रेम प्रणय र प्रकटलाई वरिपरि राखेर घण्टौ बितायौं । दोस्रो भेटमै मलाई प्रकटदाई संग्लो सफा मान्छे लाग्यो । मैले लोभ देखिन । पाप भेटिन । कला र गलामा रमाउने हँसिलो र रसिलो प्रकटदाई । अहिले पनि प्रकटदाई सम्झिदा मेरो मन यस्तै कुरा क्यासेटको चक्का झै घुमिरहेका छन् ।
सायद दोस्रो पटकको त्यहि भेटमा मैले प्रकटदाईसँग रेडियो कार्यक्रम खुल्दुली डट कमका लागि करिब एक घण्टा लामो कुराकानी गरें । त्यै बेलामा खै कहाँबाट मैले फ्याट्ट प्रकटदाईलाई बुढा भने, बुढा रे रु कल्लाई बुढा भनेको प्रकटदाई झोक्किएको जस्तो लागेको थियो तर त्यस्तो रैनछ बुढा मज्जाले हासें । पहिला म तर्सिएँ तर मैले बुढा भन्दा प्रकटदाई खुब रमाईलो लागेको रैछ ।
जता ततै बुढा परलोक गएको पक्का भए पछि फेरि फोन थिंचे । छोरी मौसमीले उठाईन । भाउजुका बारेमा सोधें । मौसमीको दाईका बारेमा सोधे । मौसमीले भनिन्, तिर्थ अंकलको सल्लाह अनुसार सद्गद् भोली गर्ने कुरा भयो त्यसैले हामी घर देउराली फर्कियौं । मौसमीसँगको कुरा सकियो । फेरि मनमा बादल मडारियो ।
मेरो मनमा चैं बुढा र बुढाका सपना मात्रै वरिपरि घुमी रहे । काठमाडौको गुरुकुलको कार्यक्रम पछि बुढालाई काठमाडौमै बस्न मन थियो । रेडियो अडियोसँग अल्लि नजिक भएपछि बुढालाई झन् यतै बस्न मन लायो । मैले सकेको र जानेको हिसाबले प्रकटदाई फराकिलो बनाउन कोसिश गरि रहें । मेरो हरेक प्रस्ताव र योजनामा प्रकटलाईले नाई नास्ति कहिल्यै गर्नु भएन ।
प्रकटलाई काठमाडौमा अडिन मन थियो । काठमाडौमा अल्लि झ्यागिंन मन थियो । पोखरामा सम्भावना हुँदा हुँदै पनि काठमाडौले प्रकटलाई लोभ्याएको थियो तर लोभ्याउन खप्पिस काठमाडौंले प्रकटलाई टिकाउन सकेन । प्रकटको प्रतिभा चिनेन । काठमाडौमा प्रकटका केहि बर्ष आलेटालेमा बिते । अनि प्रकट फेरि पोखरा फर्किए । शब्दका केहि थान पाण्डुलिपी आफ्नै सिरानी वरिपरि छोडे र केहि थान पुस्तक प्रकाशन गर्ने उनको सपना बाँकि नै राखे । पछिल्लो समयमा आफ्नै थलो देउरालीमा आफ्नै परिवेशमा रमाएका प्रकट अब कहिल्यै नआउने गरि अस्ताए ।
बाइ बाइ बुढा !