काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टी-इस्टेटको जग्गा विक्री नेपाली कांग्रेसको पालामा नभएको बताउनु भएको छ । काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
अदालतले फैसला गरेपछि गिरीबन्धु टी-इस्टेटको निर्णय कांग्रेसको पालामा भएको भनी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएको विषय बाहिर आएको उहाँले उल्लेख गर्नुभयो । उहाँले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भनी प्रश्न गर्नुभयो । ओलीसरहको नेताले त्यस्तो गलत कुरा भन्न नसुहाउने उहाँको भनाइ छ ।
‘अहिले यो नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ, अदालतले फैसला गरेपछि गिरीबन्धु टी-इस्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर । आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालोमा भयो, के भयो, भनिदिए भइहाल्यो नि,’ देउवाले भन्नुभयो, ‘त्यसकारण यस्तो कुरा उहाँजस्तो नेताले भन्न सुहाउँदैन । आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ ?’
अदालतले उहाँतिर संकेत गर्दा उहाँ उल्टै कांग्रेसका पालामा भएको भनिरहनु भएको छ, देउवाले अगाडि भन्नुभयो, ‘कांग्रेसको पालामा गिरिजाबाबु र म हो, हाम्रो पालामा भएकै छैन । उहाँले यस्तो कुरा बोल्नुभयो, उहाँजस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो ।’