काठमाडौं । ब्रोकर कमिसन घट्नासाथ बढ्न सुरु गरेको शेयर बजार फेरि सुस्ताएको छ । मंगलबार अर्थात् जेठ १ बाट ब्रोकर कमिसन १० प्रतिशतको दरमा घटेको थियो । जुन अहिले लागू नै भएको छ ।कमिसन घट्ने खबरले लगातार पाँच दिन बढेको बजार बुधबार घट्यो भने बिहीबार स्थिर देखियो । बिहीबार नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ को विन्दुमा रोकिएसँगै बजार बन्द भयो ।
अंकगणितीय रुपमा बजार स्थिर देखिएपनि कारोबार रकम भने बढेको छ । कारोबार रकम करिब १५ प्रतिशतले बढेर चार अर्ब २३ करोड रूपैयाँ पुगेको छ । बुधबार तीन अर्ब ६८ करोड रूपैयाँको शेयर कारोबार भएको थियो ।
लघुवित्त कम्पनीहरूको कारोबारमा बिहीबार केही सुधार आएको छ । लघुवित्त समूहको करिब चार प्रतिशतले वृद्धि भएको हो । यो समूहका चार कम्पनीको शेयर मूल्य १० प्रतिशतसम्म वृद्धि भएको छ मूल्य बढ्नेमा हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सृजनशील लघुवित्त र स्वाभिमान लघुवित्त छन् । सबैभन्दा धेरैले शेयर मूल्य बढ्ने ३० कम्पनीमा २६ वटा लघुवित्त छन् ।
केही समय अघिसम्म समस्यामा देखिएका लघुवित्त कम्पनीहरूको वित्तीय विवरणमा सुधार देखिएसँगै बजारमा यसको प्रभाव देखिएको हो । विकास बैंक र वित्त कम्पनी समूहमा सबैभन्दा धेरै एक प्रतिशत बढीले कमि आएको छ ।
कुल तीन सय १५ वटाको शेयर कारोबार भएकोमा एक सय २१ वटाको मूल्य बढेको छ भने एक सय ७७ वटाको मूल्य घटेको छ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (सिएचडिसी)को सबैभन्दा धेरै रकमको शेयर कारोबार भएको छ । यो कम्पनीको मात्रै ४३ करोड ९० लाख रूपैयाँको कारोबार भएको हो । यसदिन भएको कुल कारोबार रकमको आधारमा यो १० प्रतिशतभन्दा धेरै हो ।
कम्पनीको करिब १० प्रतिशतले मूल्य बढेको छ । यो कम्पनीको शेयर प्रतिकित्ता आठ सय १० रूपैयाँमा कारोबार भइरहेको छ । वैशाख ३० गते कम्पनीका संस्थापक तथा कर्मचारीको लकिङ अवधि सकिएको थियो । केही समयअघि कम्पनीले ११ प्रतिशत बोनस शेयर दिएको थियो ।
हालसम्म एक हजार दुई सय दुई रूपैयाँको उच्च मूल्य कायम गरेको सिएचडिसीले यो आर्थिक वर्षको तेस्रो त्रैमासमा आठ करोड २५ लाख नाफा कमाएको थियो ।