काठमाडौं । नेपालले भारतीय ब्रान्डका केही मसला आयातमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड एमडीएच र एभरेस्टका ४ प्रकारका मसला आयातमा रोक लगाएको हो । हङकङ र सिंगापुरले ती मसलामा हानिकारक ‘एथलिन अक्साइड’ रहेको भन्दै आयातमा रोक लगाएको छ ।
हङकङको खाद्य सुरक्षा केन्द्र(सीएफएस) र सिंगापुर फुड एजेन्सीले समेत रोक लगाएको तथ्यलाई पनि विभागले कारण बनाएको छ । एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला र एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र विक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो ।
एमडीएचका यी मसलाहरू १०० ग्राम र एभरेस्टको ५० ग्रामको प्याकिङ छ । विभागले यी मसलाको आयात अनुमति तत्काल स्थगित गर्ने र आयात विन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूलाई सूचित गर्ने निर्णय गरेको छ । विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले पछिल्लो निर्णयबारे जानकारी दिँदै सम्बन्धित कार्यालय केही भारतका ब्रान्डका मसलाको आयातमा रोक लगाइएको पत्राचार गरिएको बताउनु भएको छ ।
विभागले उल्लिखित ब्रान्डका उत्पादन बजारमा रहेको भए फिर्ता गर्न पनि आयातकर्तालाई निर्देशन दिइसकेको छ । साथै विभागले राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई ‘एथलिन अक्साइड’ परीक्षणलाई उच्च प्राथमिकतामा राख्न समेत निर्देशन दिएको छ ।
मसला उत्पादन र निर्यातका हिसाबले भारत विश्वकै अग्रणी मुलुकमध्ये एक हो । बीबीसीका अनुसार भारतले झन्डै ४ विलियन डलरबराबरको मसला बर्सेनी निर्यात गर्छ जुन विश्व मसला निर्यातको १२ प्रतिशत हो । नेपालले समेत भारतबाट ठूलो परिमाणमा मसला आयात गर्छ । यो आर्थिक वर्षको ९ महिनामा मात्र नेपालले भारतबाट झन्डै ८ अर्ब रुपैयाँबराबरको विभिन्न मसला आयात गरेको छ । नेपालले प्रत्येक वर्ष भारतबाट खुर्सानी र मरिचमात्र झन्डै २ अर्ब रुपैयाँबराबरको आयात गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी खाद्य तथा औषधि प्रशासन(एफडीए) ले समेत भारतीय एमडीएच र एभरेस्ट मसलाका बारेमा अध्ययन गरिरहेको जनाएको छ । एफडीएका प्रवक्ताको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘यसबारे आइरहेको समाचारहरूबारे एफडीए सूचित रहेको छ । हामीले यसबारेमा थप सूचना संकलन गरिरहेका छौँ ।’ त्यस्तै न्युजिल्यान्ड र अस्ट्रेलियाले पनि यसबारेमा सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको जनाएका छन् ।
पछिल्लो ४ वर्षमा युरोपेली युनियनले ५२७ भारतीय उत्पादनका क्यान्सरजन्य रसायन भेटिएको जनाएको छ । ती उत्पादनमा अधिकांश हिस्सा मसलाजन्य वस्तु रहेका छन् । सेप्टेम्बर २०२० देखि अप्रिल २०२४ सम्म युरोपेली युनियनको खाद्य गुणस्तर परीक्षणसम्बन्धी निकायले भारतीय मसलाजन्य, पौस्टिक आहार र अन्य खाद्य सामग्रीमा यो रसायन भेट्टाएको हो ।