ढोरपाटन । वाग्लुङको जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछमा रहेको सर्वोदय प्राथमिक विद्यालयमा विद्यार्थी छैनन् । २०१२ सालमा स्थापना भएको यो विद्यालयमा अघिल्लो वर्षसम्म आठ विद्यार्थी थिए । अहिले एक जना पनि विद्यार्थी नभएको बताइएको छ ।
विद्यालयमा विद्यार्थी नभए चार जना शिक्षक दैनिक हाजिर भइरहेका छन् । दुई स्थायी र बाल विकास सहजकर्तासहित दुई अस्थायी शिक्षक यो विद्यालयमा कार्यरत छन् । विद्यार्थी नभएपछि शिक्षकलाई दिन कटाउनै मुस्किल हुन्छ । गाउँ बसाइँसराइले रित्तिँदै गएपछि विद्यार्थीको संख्या शून्य भएको हो । केही वर्षअगाडिसम्म यो गाउँमा ८८ घर थिए । हाल ३३ घर मात्रै छन् । ती घरमा पनि बूढापाका मात्रै छन् ।
सेवा, सुविधा र विलासिताको खोजीमा शहर बजारतिर सर्नेको लर्को लागेपछि विद्यालय बन्द हुनाका साथै गाउँ नै सुनसान छ । विद्यालयमा चिटिक्क परेका कक्षाकोठा छन् । शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन बनाइएको सामग्रीले विद्यार्थी पर्खिरहेका छन् ।
विद्यालयमा विद्यार्थीको चहलपहल हुनुपर्ने हो । दैनिक पठनपाठन हुनुपर्ने हो । विद्यार्थी नभए पनि विद्यालय सुनसान बनेको छ । डेस्क बेञ्चदेखि सबै किसिमका सुविधा छन् । विद्यार्थीविहीन विद्यालयमा शिक्षकले भने नियमित तलब खाइरहेका छन् । बागलुङका विभिन्न स्थानीय तहले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन, तह मिलान तथा स्थगन गरिरहेका छन् भने जैमिनी नगरपालिकाले अहिलेसम्म गरेको छैन ।
यो विद्यालयका प्रधानाध्यापक लेखनाथ शर्माले विद्यार्थी नहुँदा दिन बिताउनै गाह्रो हुने गरेको बताउनुभयो । गाउँमा वृद्धवृद्धाबाहेक अरू नभएको हुँदा विद्यालय रित्तिएको उहाँको भनाइ छ । अझै आफूहरुले शिक्षाको गुणस्तर बढाएर छिमेकी गाउँबाट र बोर्डिङ पढ्ने विद्यार्थीलाई ल्याउन सकिन्छ कि भनेर प्रयास गरेको प्रधानाध्यापक शर्मा बताउनुहुन्छ ।
शर्माले भन्नुभयो, “एक दशक अगाडिसम्म झन्डै एक सय कुरिया (घर परिवार) रहेको गाउँमा अहिले घटेर निकै थोरै छन्, दिनदिनै बसाइँसराइ गरे तराई झर्ने गर्दा गाउँमा बूढापाका मान्छे मात्रै छन्, बालबालिका छैनन्, बालबालिका हुँदै नभएपछि विद्यालय रित्तिने अवस्था आयो, अझै पनि छिमेकी गाउँबाट विद्यार्थीलाई लिएर पढाउन सकिन्छ भनेर प्रयास गरिरहेका छौँ, विद्यार्थी नहुँदा हामी शिक्षकलाई पनि दिनभरि यत्तिकै बस्दा गाह्रो भएको छ ।”
विद्यालय नजिकैकी स्थानीय हिरा पौडेलले दकश अगाडिसम्म यस विद्यालयमा विद्यार्थीको चापले गर्दा डेस्क, बेञ्च नपुगेर भुइँमै बसेर पढ्ने गरेको बताउनुभयो । अहिले विद्यालयमा धेरै सेवासुविधा हुँदा पनि पढ्ने बालबालिका कोही नभएको उहाँको भनाइ छ । विद्यालय स्थापित गर्नका लागि गाउँलेले ठूलो योगदान पु¥याएको भन्दै अहिले विद्यार्थी नभएर रित्तो हुँदा दुःख लागेको पौडेलले बताउनुभयो ।
अधिकांश चितवन, गैँडाकोटा, नवलपरासीलगायत ठाउँमा बसाइँसराइ गरेर गएपछि अचेल गाउँमा बालबालिका भेट्टाउनै मुस्किल पर्ने उहाँको भनाइ छ । पहिलेको तुलनामा अहिले विद्यालयको अवस्था निकै फेरिएको पौडेल बताउनुहुन्छ ।