काठमाडौं । विश्वभरी एकल परिवारको तिव्र विकास, हराउँदो संयुक्त परिवार प्रणाली, परिवारका सदस्यमा बढ्दो लगानी लगायतका अनेकौं कारणले गर्दा केही कर्णप्रिय नेपाली सम्बोधनहरू लगभग हराइसकेका छन । अन्तरे अन्तरी, खन्तरे खन्तरी, जन्तरे जन्तरी लगायतका मौलिक सम्बोधनहरू हराइसकेका छन भने माइलो माईली, साइँलो साईँली जस्ता सम्बोधनहरू अति संकटापन्न अवस्थामा पुगेका छन ।
माइलो वा माईली हुन ३ छोरा वा ३ छोरी अनिवार्य हुन्छ । जनसंख्याको विश्वव्यापी वा नेपालकै वर्तमान तथ्याङ्कलाई हेर्दा जेठा वा जेठी बाहेकका सम्पूर्ण सम्बोधनहरु नै संकटमा रहेको पुष्टि हुन्छ । अहिलेकै गति र लयमा जनसंख्याको चित्र अघिबढिरहने हो भने कान्छा, कान्छी समेत संकटमा पर्ने निश्चित छ ।
नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व बैरागी काइँलाले काइँला सम्बोधन पाउन आफू अघिल्तिर ३ र आफु पछिल्तिर कम्तिमा एक भाई भएको यथार्थ हो । तर, विश्वव्यापीरुपमै सन्तान उत्पादनमा आउन थालेको कमीका कारण अब यस्ता सम्बोधनबाचक शब्दहरु शब्दकोष मै सिमित रहने देखिन्छ । नेपालको पछिल्लो जनगणनाले समेत प्रति परिवारको कुल सदस्य संख्या तीव्र गतिले घटिरहेको संयुक्त परिवारको परम्परागत श्रोत छिन्नभिन्न भएको पुष्टि गर्दछ ।
गत दश वर्षमा प्रतिपरिवार सदस्य संख्यामा कमी आएको देखिन्छ । २०७८ मा प्रति परिवार ४.३२ जना सदस्य रहेको देखिन्छ जुन २०६८ मा ४.८८ थियो । शहरी क्षेत्रको परिवारमा सालाखाला ४.२५ जना पाइयो भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेको देखिन्छ जुन दश वर्षअघि क्रमशः ४.३२ जना र ५.०२ जना थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा हिमाली क्षेत्रमा सालाखाला ४.२७, पहाडमा ३.९५ र तराई क्षेत्रमा ४.६५ जना प्रतिपरिवार रहेको देखिन्छ ।
प्रदेशगत आधारमा परिवारमा औसत सदस्य संख्या गण्डकी प्रदेशमा सबैभन्दा कम (३.६६ जना) र मधेश प्रदेशमा सबैभन्दा बढी (५.१५ जना) रहेको छ जुन २०६८ सालमा क्रमशः ४.१६ जना र ५.८० जना रहेको थियो । जिल्ला अनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा देखिएको छ जहाँ एक परिवारमा औसत ३.४१ जना रहेका छन् भने रौतहट, बारा, कपिलवस्तुमा औसत परिवार ५. ५० जनाभन्दा बढी देखिन्छन् ।
जनसंख्याविद तथा प्राध्यापक डाक्टर योगेन्द्र बहादुर गुरुङ्गका अनुसार उत्पादनमुखी कृषि प्रणालीको विस्थापन, आधुनिकीकरण र सञ्चार प्रणालीको तीव्र विकास लगायतका कारणबाट मानिसहरु बजारमुखि हुँर्दै गए । तीव्र बजारीकरणका कारण प्रतिस्पर्धात्मक भावनाको विकास हुँदै गयो । बजारमुखि प्रतिस्पर्धाकै करण धेरै सन्तान उत्पादन भन्दा पनि सन्तानलाई बजारमुखि प्रतिष्पर्धी बनाउन अभिभावकहरुको लगानी खनिन्छ । परिणामस्वरुप कम सन्तान उत्पादन र सन्तान वा स्वयंमा अत्यधिक लगानी स्वभाविक रुपमा अघि बढ्छ । प्रतिष्पर्धी बजारकै फलस्वरुप परिवारको सदस्य संख्यामा ह्रास आउदै जानु स्वभाविक प्रक्रियाका रुपमा स्थापित भइसकेको जनसंख्याविद गुरुङ्गको बुझाई छ ।
धेरै सन्तान जन्माएर प्रतिष्पर्धी बनाउन धेरै लगानी लाग्ने हुँदा कम सन्तान वा एक मात्र सन्तान उत्पादनप्रति मोह बढेकाले परम्परागत सम्बन्धका धेरै शब्दहरु हराउँदै गएको गुरुङ्गको तर्क छ । जनसंख्याविद गुरुङ्गको बुझाइमा परिवार संख्या घट्दै जाने विश्वव्यापी प्रक्रियालाई रोक्न सम्भव छैन, र रोकिन हुदैन । यो स्वभाविक प्रक्रियाका रुपमा विकास भइसकेकाले राज्यले नै समाज भित्रै बढी भन्दा बढी, व्यक्ति-व्यक्तिबीचको संवादलाई बढावा दिने खालको नीति ल्याएर कार्यान्वयनमा ल्याउन जरुरी भएको गुरुङ्गको सुझाव छ ।
चीनले सन् २०१६ मा एक सन्तान नीति खारेज गरी दुई सन्तानको सीमा कायम गरेको थियो जसले जन्मदरमा निरन्तर वृद्धि हुन सकेन। त्यसपछि चीनले सन् २०२२मा ३ सन्तानको नीति ल्याएको छ । यसअघी सन् १९७९ मा चिनले एक सन्तान नीति लिएको थियो । दश वर्षमा नेपालको जनसंख्या १०.१८% ले बढेको देखिन्छ । विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३% देखिन्छ । जुन अघिल्लो जनगणनामा १.३५% रहेको थियो ।
समाजशास्त्री प्राध्यापक खगेन्द्र प्रसाईंको बुझाईमा सानो परिवारका कारण सम्बन्ध सूचक शब्दहरु मात्र हैन आपसी सम्बन्ध नै बजारीकरण भइसकेको छ , “हिजोको जुन सामन्तवादको पारिवारिक सम्बन्ध थियो, पुँजीवादी युगमा ती सम्बन्धहरु बदलिए । पहिले संयुक्त परिवार थियो । संयुक्त परिवारमा सम्बन्धहरु स्वतः स्थापित हुन्छन् ।
पूँजीवादी व्यवस्थामा सामाजिक सम्बन्ध न्यूक्लियरतर्फ गयो भन्ने अध्ययन छ । न्यूक्लियरतर्फ जानु भने कै सम्बन्धहरु परिवर्तन हुनु हो । सामन्त परिवारमा हजुरबाको जुन स्थान हुन्थ्यो, पूँजीवाद परिवारमा फितलो भएर जान्छ । हजुरबा र नातिबीचको प्रेम गाढा हुन्न । न्यूक्लियर अब एकल परिवारमा सर्छ । परिवारमा माया रगतबाट परिभाषित हुँदैन । सामाजिक सम्बन्धबाट परिभाषित हुन्छ” ।
सन्तान कम उत्पादन हुनाका बेफाइदा धेरै हुन्छन । कुनै पनि देशका लागि आवश्यक यूवा उर्जा श्रोत कालान्तरमा घट्दै जान्छ र राष्ट्र नै यूवा उर्जाश्रोतमा परनिर्भर हुन पुग्छ । अमेरिकाको डि भी, क्यानाडा, अस्ट्रेलियाजस्ता राष्ट्रका स्थायी बसोबास अनुमति यूवा उर्जाश्रोत आपूर्तिका लागि प्रयोग गरिएका हतियार हुन ।
आफ्नो पिताका २१औं सन्तान प्राध्यापक अभि सुवेदीको अनुभवमा चीनले एउटामात्र बच्चा भनेर ल्याएको नीतिकै कारण अहिले आत्तिएर टाउकामा हात हालेर बसेको छ, नियम त हटायो तर ढिला भइसक्यो । चीनले सन १९७९मा ल्याएको एक सन्तान नीति सन २०१६मा दुई सन्तानमा पुर्यायो तर त्यो पनि प्रभावकारी नभएपछि सन २०२२ देखि ३ सन्तानको नीति लिएर आएको छ ।
सन् १९६३ मा ५.३ बाट २०२१ मा २.३ मा आएको विश्वव्यापी कुल प्रजनन दरमा अचानक आएको गिरावटका कारण नै मुख्यतया जनसंख्या वृद्धिमा कमी आएको हो । कुल प्रजनन दरमा आएको गिरावट विश्वका हरेक क्षेत्रमा देखिएको छ र यो प्रक्रियालाई जनसाङ्ख्यिकी संक्रमणका रुपमा लिइन्छ ।
जनसंख्या उच्च दरमा घटिरहेका २० राष्ट्र
पश्चिमी शिक्षा र अन्तरर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको गलत आकलनले गर्दा परिवार नियोजनको बाढीका कारण परम्परागत नेपाली पारिवारिक संरचनामा आक्रमण भयो र विकासकै अंशका रुपमा साइला साइली, काईला काईली शिकार भए । हुदाँ–हुदाँ एकल सन्तान उत्पादनका लागि समेत मानिसहरुमा जाँगर हराउन थालेपछि अब जेठा जेठी वा कान्छा कान्छी समेत संकटमा परेका छन् । जेठा जेठी वा कान्छा कान्छी हुन समेत अर्को समान लिङ्गी सन्तान आवश्यक हुन्छ । प्राध्यापक सुवेदीका अनुसार अब पछाडि फर्कने ठाँउ छैन र सम्बन्धहरूको बजारिकरणबाट जोगिएर सम्बन्धहरु सबल बनाउने तर्फ ध्यान दिन जरुरी छ ।
एउटा नयाँ तथ्याङ्क अनुसार पृथ्वीको जनसंख्या आउँदो शताब्दीमा घट्ने सम्भावना छ र पहिले अनुमान गरिएको ११ अर्बको नजिक कतैबाट पनि पुग्ने सम्भावना छैन । नयाँ अध्ययन प्रतिवेदन अनुसार सन् २१०० मा पृथ्वीमा ६ अर्ब मानिसमात्र हुनेछन र जनसंख्या घट्नुअघि सन् २०५० सम्ममा जनसंख्या वृद्धि रोकिनेछ । गैर-नाफामुखी संस्था द क्लब अफ रोमले गरेको अध्ययनले वर्तमान प्रवृत्तिले निरन्तरता पाएमा विश्वको जनसङ्ख्या सन् २०५० सम्ममा ८ अर्ब ६ करोड पुग्ने छ र यो सन् २१०० मा झण्डै २ अर्बले घटेर जानेछ ।
जनसंख्या बढाउन केही स्थानीय तथा राष्ट्रिय प्रयासहरु
- भारत राजस्थानको महेश्वरी समुदायले तेस्रो सन्तान जन्माउने दम्पतीलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
- भारतकै जैन समूदायले हम दो हमारे तीन नाराअघि सारेको छ साथै बच्चाको पढाई खर्च व्योहर्ने बताएको छ ।
- इस्टोनियाले आमाका लागि ८६ हप्तासम्म विदा लिन सक्ने व्यवस्था गरेको छ ।
- जापान र कोरियाले पिताका लागि १ वर्षे विदा लिनसक्ने व्यवस्था गरेको छ
- सिङ्गापुरले बढी सन्तान उत्पादनका लागि प्रेरित गर्न १ अर्ब डलरभन्दा बढीको विभिन्न लाभकारी योजनाअघि सारेको छ ।
- जापानले पहिलो र दोस्रो बच्चाका लागि प्रतिबच्चा मासिक १५ हजार यूयान साथै तेस्रो र त्यसपछिका बच्चाहरूको लागि, उच्च विद्यालय उमेरसम्म प्रतिबच्चा मासिक ३० हजार यूयान उपलब्ध गराउँछ ।
- नेपालमा पाल्पाको रिब्दीकोट गाउँपालिकाले दुई भन्दा बढी सन्तान जन्माउने परिवारलाई प्रोत्साहन भत्ता दिने योजनाअघि सारेको छ । जहाँ दुईभन्दामाथि बच्चा जन्माएर वडामा जन्मदर्ता गर्ने वित्तिकै पाँच हजार भत्ता दिने गरिएको छ । यस्तै, इलाम नगरपालिकाले उपमहानगर बढुवाका लागि जनसंख्या बढाउन भन्दै बढी बच्चा जन्माउनेलाई पोषण सुविधा दिने निर्णय गरेकामा विवादित बन्यो । यद्यपि, नगरपालिकाले कार्यान्वयनको पहल गरिरहेको छ । इलाम नपाले नगरभित्रका दोस्रो पटक बच्चा जन्माउने सुत्केरीलाई २ हजार, तेस्रो बच्चा जन्माउने सुत्केरीलाई ३ हजार, चौथो पटक बच्चा जन्माउने सुत्केरीलाई ४ हजार र पाँचौं पटक र त्यसभन्दा माथि बच्चा जन्माउने सुत्केरीलाई ५ हजार रुपैयाँ पोषण सुविधा दिने निर्णय गरेको हो ।