काठमाडौं । लामो समय वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन नबुझाएका कारण विवादमा परेको र पाँच तारेको मान्यता पाउन नसकेको नयाँ बानेश्वरस्थित ‘द एभरेस्ट होटल’ले बल्ल ईआईए रिपोर्ट बुझाएको छ ।
एभरेष्ट होटलले बुझाएका ईआईए रिपोर्ट वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको छ । २०३८ सालदेखि सञ्चालनमा आएको यो होटलले ईआईए रिपोर्ट नबुझाएका कारण पर्यटन विभागको पाँचतारे स्ट्याण्डर्ड सूचीमा पर्न सकेको थिएन ।
एभरेष्ट होटल २०४२ सालदेखि पाँचतारे मान्यता प्राप्त थियो । २०७२ सालको भूकम्पले होटलको भवनमा क्षति गरेपछि होटल बन्द भयो । मर्मतपछि १२ असोज २०७६देखि होटल पुनः सञ्चालनमा आएपनि रिपोर्ट बुझाएको थिएन । मन्त्रालयलाई बुझाएको प्रतिवेदन अनुसार एभरेस्टले थप संरचना बनाउने कुनै योजना बनाएको देखिँदैन । यद्यपि, वातावरणीय हिसाबले वरपर छरछिमेकले एभरेष्टलाई रुचाएका छैनन् । एभरेष्टका केही विद्युतीय संरचनाहरुले वरपर अत्यधिक ध्वनी प्रदूषण गरिरहेको स्थानीयले बताएका छन् ।
होटल सञ्चालनमा आएका बेला वातावरणीय अध्ययन गर्नुपर्ने प्रावधान थिएन । २०५३ सालमा वातावरण संरक्षण ऐन लागु भएसँगै १ सय शय्याभन्दा बढी क्षमताका होटल र रिसोर्टलाई वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गरिएको छ ।
यद्यपि, २०५३ सालभन्दा पहिला नै सञ्चालनमा आएका संरचनालाई अनिवार्य गरिएको थिएन । पर्यटन विभागले १० फागुन २०७४ मा सूचना प्रकाशित गरेर नयाँ तथा पुराना सबै होटलका लागि ईआईए अनिवार्य गरेसँगै एभरेष्टलाई अफ्ठेरो परेको हो ।
मूल भवन एउटै रहेको एभरेस्टमा १६० कोठा र २५२ वटा शय्या छन् । कुल १३ रोपनी ७ आना क्षेत्रफलमा फैलिएको यो होटलले प्रतिदिन २ लाख ७५ हजार लिटर भूमिगत पानी प्रयोग गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । नियम अनुसार दैनिक २० हजार लिटरभन्दा बढी भूमिगत पानी प्रयोग गर्ने भवन निर्माण र सञ्चालन गर्दा ईआईए गर्नुपर्छ । पानी तान्ने मेसिनहरु कराएको आवाजले वरपर ध्वनी प्रदूषण अधिक गरिरहेको गुनासो छ ।
उता, एभरेस्टमा एक वर्षमा करिब १० हजार पाहुनाले सेवा लिएको भेटिएको छ । प्रतिवेदन अनुसार सन् २०२३ मा यो होटलमा ९ हजार ९७३ जनाले सेवा लिएका थिए । जसमध्ये ४१ प्रतिशत भारतीय थिए । २० प्रतिशत नेपाली र ३९ प्रतिशत तेस्रो मुलुकका रहेका जनाइएको छ । एभरेष्टले हाल १५६ जनालाई रोजगारी दिइरहेको छ ।