काठमाडौं । अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरीले जित्नु भएको छ । दुवै विधाका विजेताले जनही ५० हजार पाए ।
राजनले २१ दशमलव एक किलोमिटर दौड एक घण्टा १६ मिनेट सात सेकेन्डमा पूरा गर्नुभयो भने खिमबहादुर खत्री एक घण्टा १७ मिनेट २४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो हुनुभयो । साथै धर्म महर्जन एक घण्टा १९ मिनेट ५८ सेकेन्ड खर्चदै तेस्रो हुनुभयो ।
महिलातर्फ सुमित्राले एक घण्टा ३४ मिनेट २६ सेकेन्डमा दौड पूरा गर्नुभयो । उहाँपछि पुष्पा भण्डारी एक घण्टा ४२ मिनेट ५४ सेकेन्डमा दौड पूरा गरेर दोस्रो हुनुभयो । मञ्जु सुनार दुई घण्टा ३ मिनेट ८ सेकेन्डको समयमा तेस्रो हुनुभयो ।
त्यसैगरी पुरुष १० किलोमिटर दौडमा ३२ मिनेट ३३.१ सेकेन्डको समयसहित राजेन्द्र तामाङ पहिलो हुनुभयो । यस्तै सुरज कार्की ३३ मिनेट ३९.२ सेकेन्डमा दोस्रो र रेम बुढामगर ३४ मिनेट ५३.१ सेकेन्डमा तेस्रो हुनुभयो ।
महिलातर्फ १० किलोमिटर दौडमा फुलमति राना ३८ मिनेट २८.०५ सेकेन्डमा पहिलो, आशा रावत ३९ मिनेट ४.४० सेकेन्डमा दोस्रो तथा सगुन राई ५० मिनेट २० सेकेन्डमा तेस्रो हुनुभयो ।
यस्तै, पुरुष पाँच किलोमिटर दौडमा नागेश्वर अहिर १८ मिनेट ३३.७५ सेकेन्डमा पहिलो, मिङ्मा शेर्पा १८ मिनेट ४२.४० सेकेन्डमा दोस्रो तथा हस्त सुनार १९ मिनेट १५.४० सेकेन्डमा तेस्रो स्थानमा रहनुभयो । महिलाको पाँच किलोमिटर दौडमा सीमा चौधरी २२ मिनेट ४८.७० सेकेन्डमा पहिलो हुनुभयो । उहाँपछि २३ मिनेट ५०.९ सेकेन्डमा श्रेबी महर्जन दोस्रो तथा २६ मिनेट ३९.८७ सेकेन्डमा पूर्णिमा श्रेष्ठ तेस्रो हुनुभयो ।
छात्रतर्फ एक किलोमिटर दौडमा सञ्जय नेफाली, सन्तोषविक्रम विष्ट र खगेन्द्र शर्मा त्रमशः शीर्ष तीन स्थानमा रहनुभयो । छात्रातर्फ रजिना दुलाल, मनु खड्गी र कृटिका हाउँमिखा पहिलोदेखि तेस्रो स्थानमा रहनुभयो ।
पाटन दरवार स्क्वारमा आयोजित दौड प्रतियोगितामा विभिन्न १५ देशका एक हजारभन्दा बढी धावक धाविकाको सहभागिता रहेको थियो । कृष्ण मन्दिरबाट सुरु भएको दौड पाटनका विभिन्न स्थान भएर त्यहीं आएर टुंगेको थियो । ललितपुर उप-महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दौडका शुभारम्भ गर्नुभएको थियो ।
प्रतियोगिताको विजेता खेलाडीलाई मेयर महर्जनसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र पदक तथा पुरस्कार वितरण गर्नुभएको थियो ।