काठमाडौं ।इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अबदुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएको १५ घन्टापछि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।
आइतबार दिउँसो इरान र अजरबैजानको सिमाबाँधको उद्घाटन गरेर फर्कने क्रममा राष्ट्रपति र विदेशमन्त्री चढेको हेलिकप्टर हार्ड ल्याण्डिङ पछि दुर्घटना भएको भनिएपनि दुर्घटनास्थल पत्ता लागेको थिएन।
प्रतिकूल मौसमका कारण रातभर खोजिएपनि दुर्घटनास्थल भेटिएको थिएन। सोमबार बिहान सूर्यउदय भएसँगै दुर्घटनास्थल भेटिएको इरानी सञ्चार माध्यमहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
समाचार संस्था एसोसियटेड प्रेसले हेलिकप्टर हार्ड ल्याण्डिङ गरेको भनिएको ठाउँबाट करिब २ किलोमिटर टाढा अजरबैजानसँग सीमा जोडिएको जोल्फा नजिकै हेलिकप्टरको भग्नावशेष भेटिएको उल्लेख गरेको छ।
हेलिकप्टर पूर्ण रूपमा जलेको र त्यसमा सवार रहेका कोहीपनि बाँचेको संकेत नदेखिने समाचार संस्था रोयटर्सले लेखेको छ।
हेलिकप्टर पूर्ण रूपमा जलेको छ। सबैको मृत्यु भएको आशंका गरिएको छ,उद्धार टोलीका एक सदस्यलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
द न्युयोर्क टाइम्सले इरानको रेड क्रिसेन्ट सोसाइटीका प्रमुख पिरहोसियन कौलिभान्डलाई उद्धृत गर्दै दुर्घटना भएको ठाउँ फेला परेको तर त्यसमा सवारहरू जिवित भेटिने सम्भावना नरहेको उल्लेख गरेको छ।
हेलिकप्टरको स्थान पत्ता लगाउँदा र दृश्य हेर्दा कुनै पनि यात्रु जीवित रहेको संकेत छैन, उनले भनेका छन्।
राष्ट्रपति र विदेशमन्त्री सवार हेलिकप्टर खोज्न २० वटा भन्दा बढी उद्धार टोली खटिएका थिए। टर्की र रूसले पनि हेलिकप्टर खोज्नका लागि सहयोग गरेको थियो।
बिबिसीका अनुसार टर्कीको ड्रोनले हेलिकप्टर दुर्घटनास्थल पत्ता लगाएको हो।
दुर्घटनास्थल पत्ता लागेसँगै उद्धार टोली त्यसतर्फ लागेको छ।
राष्ट्रपतिको सवारीमा तीन हेलिकप्टर संलग्न थिए। यीमध्ये दुई वटाले सुरक्षित अवतरण गरेका थिए।