काठमाडौं । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पल्ट विश्वासको मत पाउनु भएको छ । मत विभाजनमा प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत पर्यो । विपक्षमा शून्य मत परेको छ । मतदानमा १५८ जना सांसदले भाग लिएका थिए । तर, एक मत तटस्थ रहयो ।
तेस्रो पल्ट विश्वासको मत लिंदा पनि प्रधानमन्त्री प्रचण्डले १५७ मत पाउनु भएको थियो । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) बमोजिम विश्वासको मत लिनुभएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको होहल्ला र विरोधबीच सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धको प्रस्ताव निर्णयार्थ पेश गर्नु भएको थियो । कांग्रेस सांसदले सहकारी प्रकरणमा छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै विरोध गरिरहेको छ ।
सभामुख घिमिरेले प्रधानमन्त्रीलाई बहुमत सदस्यले विश्वासको मत दिनुभएको भन्नुहुँदै बधाई ज्ञापन गर्नुभयो । जनता समाजवादी पार्टी नेपाल (जसपा) गत वैशाख ३१ गते सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले सोमबार चौथो पटक सदनबाट विश्वासको मत लिनु परेको हो ।
सरकारलाई समर्थन गरेको दलले बिचैमा सरकारबाट बाहिरिएमा ३० दिन भित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था छ । २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री प्रचण्डले यसअघि चैत २६ गते, चैत ६ गते, र पुस ३० गते विश्वासको मत लिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डको पक्षमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले मत दिए ।
विश्वासको मतको विपक्षमा नेपाली कांग्रेस, राप्रपा, जसपा, लोसपा लगायत दल रहे । मतदानमा भने सहभागि भएनन् । सभामुख घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक जेठ ८ गते मंगलबार विहान ११ बजे बस्ने जानकारी दिनु भएको छ ।