काठमाडौं । मौद्रिक नीतिको तेस्रो समीक्षालाई पूँजी बजारले स्वागत गरेको छ । मौद्रिक नीतिको समीक्षापछिका दुबै कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अकंले बढेको छ । सोमबार क्यापिटल मार्केट १२ः२३ बजे २१२१ विन्दुसम्म पुग्यो । त्यसपछि भने परिसूचक फेरि २ हजार विन्दुमा ओर्लियो ।
शेयर बजारमा देखिएको उत्साहले लगानीकर्ता हौसिएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले एक वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म विक्री गर्न पाउने व्यवस्था गरेसँगै त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको बताइँदैछ ।
सोमबार नेप्से २७.५४ अकंले बढेर २०९२.०० विन्दु कायम भइ बन्द भयो । यस दिन कारोबार रकम भने पाँच महिनायता कै उच्च भएको छ । एक करोड ४३ लाख बढी कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यसअघि माघ ८ गते ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँ कारोबार पुगेको थियो । त्यसयता कै आजको कारोकार उच्च हो ।
साताको दोस्रो दिन आठ उपसूचकमा हरियाली आएको छ । सोमबार बैंकिङ समूहको ४.१८ प्रतिशत, विकास बैंक समूहको ०.४२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३९ प्रतिशत, हाइड्रोपावर समूहको १.३८ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.८४ प्रतिशतले शेयर मूल्य बढेको छ ।
त्यस्तै, पोखरा फाइनान्सको १९ करोड ९२ लाख रुपैयाँ, सीइडीबी हाइड्रोपावरको १८ करोड ८९ लाख रुपैयाँ र फरवार्ड माइक्रोफाइनान्सको १३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।
चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार सामुदायिक लघुवित्त, बुद्धभुमि नेपाल, भगवती हाइड्रोपावर र नेरुडे लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।