काठमाडौं । प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण रहेको सन्देश प्रवाह गरिनुपर्ने बताउनु भएको छ । लगानी बोर्डको कार्यालयमा मंगलबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई कस्ने भन्दा पनि सहजीकरण गर्ने नीति सरकारले लिने बताउनु भएको हो ।
‘निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, त्यसैले निजी क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ ।’
आजको विश्वमा विकासलाई नियन्त्रण गर्ने सोंच मान्य नभएको बताउँदै उहाँले विकासलाई प्रोत्साहन गर्ने नीति लिँदा मात्रै जनचाहना सम्बोधन गर्न सकिने धारणा राख्नुभयो ।
लगानी सम्मेलनलाई सफल तुल्याउन सबैले सकारात्मक भावमा काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनमा ‘इच्छा सूची’ प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यवहारिक परियोजना प्रस्तुत गर्नुपर्ने बताउनुभयो । ‘लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन ठोस र व्यवहारिक परियोजना प्रस्तुत गरौँ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सम्मेलनअघि ऐन संशोधन गरेका छौँ, त्यसले लगानी बढाउन मद्दत गर्नेछ, त्यसैले पनि ठोस र व्यवहारिक योजनाहरू दिनुपर्छ, नयाँ सन्देश दिनेगरी सम्मेलन गरौँ ।’
नेपालमा स्टिल उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले त्यस्ता उद्योग स्थापनाका लागि गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कृषिमा रोजगारी सिर्जना गर्न सिचाइँलाई प्राथमिकता दिन र विकासका काम रोकिएका भए अघि बढाउन समेत दिर्नेशन दिनुभयो ।