काठमाडौं । कमल एक्चै मगरको निर्देशनमा बनेको नेपाली चलचित्र ‘शिरफूल’ असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । नाइस मिडिया नेटवर्कद्वारा प्रस्तुत ‘शिरफूल’ असार ७ गतेबाट हलमा प्रदर्शन हुन लागेको हो ।
चलचित्र ‘शिरफूल’मा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय छ । ‘शिरफूल’ महिलाहरुले शिरमा लगाउने एक प्रकारको परम्परागत गहना हो । नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकाले चलचित्रमा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको निर्देशक मगर बताउनुहुन्छ ।
निर्देशक मगरले यसअघि चलचित्र ‘डेसान’ निर्देशन गर्नुभएको थियो । चलचित्रमा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई समेत चित्रण गर्ने प्रयास गरिएको निर्देशक मगरको भनाइ छ ।
चलचित्रमा राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ । आशिर्वाद पुन मगर र माया छन्त्याल पुन निर्माता रहेको चलचित्र ‘शिरफूल’को पटकथा संवाद राज थापा र राजु युगिनले तयार पार्नु भएको हो ।
तारा श्रीस, आर्जन पाण्डे, हरि लम्साल, मेलिना राई र देवराज आलेले स्वरवद्ध गर्नुभएका गीत चलचित्रमा समावेश छन् । शिरफूलमा अभिनेत्री मरिस्का पोखरेलको पनि विशेष भूमिका छ । यो चलचित्र आर आर फिल्म्सले देशभर प्रदर्शनमा लैजान लागेको हो ।