काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न कर्मचारीले पशुपति क्षेत्र विकास कोषकै कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले चोर्न लगाएको बयान दिएका छन् । चोरेको भेटी आफुहरुले चोर्न लगाउने कोषाध्यक्ष सुवेदीलाई नै बुझाएको बयान ती कर्मचारीले दिएका हुन् ।
पशुपतिमा भेटी चोरीरहेको अवस्थामा पशुपति क्षेत्र विकास कोषका ७ जना कर्मचारीसहित ८ जना सोमबार रंगेहात पक्राउ परेका थिए । पशुपति क्षेत्र विकास कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको सुराक प्रहरीलाई पुगेको थियो । कोषको सुराकका आधारमा प्रहरी वृत्त गौशालाको टोलीले ८ जनालाई पक्रिएको हो ।
प्रहरी वृत्त गौशालाका डिएसपी केशवराज थेबेका अनुसार पक्राउ पर्नेमा कोषका नायव सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली, कुमार दमाइ र पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारी छन् ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले मन्दिर भित्रबाटै भेटी चोरी हुने जानकारी आएपछि सीसीटीभीको निगरानीमा राखिएको बताउनु भयो । उहाँका अनुसार सीसीटीभीको निगरानीका क्रममा सोमबार चोरी कार्यमा संलग्नको पहिचान भएपछि अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएर पठाइएको हो । ‘मन्दिरका दर्शनार्थीले श्रद्धाले चढाएको रकम चोरी गर्ने गिरोह समातिएको छ । बाँकी प्रहरी अनुसन्धानबाट खुल्नेछ,’ उहाँले भन्नुभयो ।
पशुपतिनाथ मन्दिरमा दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी मात्रै संकलन हुन्छ । कोषका प्रवक्ता रेवतिरमण अधिकारीका अनुसार संकलित भेटी नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको बत्तीसपुतली शाखाका कर्मचारीले मन्दिर परिसरमै जम्मा गर्ने गरेका थिए ।
उहाँका अनुसार पक्राउ परेका अभियुक्तले ज्याकेटमा लुकाएर रकम लाने गरेको सीसीटीभी फुटेजमा देखिएको छ । भेटी संकलनको जिम्मेवारी नवराज ढोडारीले हेर्दै आएको बताइन्छ । तर, कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आर्थिक नियमावलीविपरीत बाजा बजाउने कर्मचारीलाई खटाएको कोषले जानकारी दिएको छ ।
पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष सुवेदीले नै आफूहरूलाई नै पैसा संकलन गर्न र लुकाएर ल्याउन खटाएको बयान प्रहरीलाई दिएको खुलेको छ । परियारले सुवेदीकै निर्देशनमा दैनिक तीन हजारदेखि १५ हजार लुकाएर ल्याउने गरेको बयान प्रहरीसमक्ष दिएको गौशाला वृत्तले जनाएको छ । कोषाध्यक्षले नै ज्याकेट लगाएर आउनू भन्ने र रकम संकलनपछि लुकाएर आफ्नो जिम्मा लगाउन भन्ने गरेको बयान परियारले दिएको अनुसन्धान अधिकारीले बताएका छन् ।
परियारसहित भेटी चोरीको आरोपमा पक्राउ परेकाले सोमबार मात्रै नौ हजार रुपैयाँ लुकाएर लगेको बयान प्रहरीसँग दिएका छन् । पशुपतिनाथमा यसअघि भेटी जम्मा गर्ने बाकस तीन घण्टा गायब भएको घटनाले हंगामा भएको थियो भने पदाधिकारी र सुरक्षाकर्मीको मिलेमतोमा दान गरिएका जिन्सी सामानहरु हिनामिना गर्ने गरेको खुलेको छ । पशुपतिनाथमा भक्तजनले चढाएको किलोका किलो सुनचाँदी समेत गायब पार्ने गरेको रहस्य समेत केही समय पहिले बाहिर आएको थियो ।