काठमाडौं । प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अन्य विपक्षी दलका सांसदको नाराबाजीबीच मंगलबार केही बेर चलेको बैठक ११ गतेसम्मका लागि स्थगित भएको हो । बैठकको सुरुमा कांग्रेस सांसद बद्री पाण्डेले सहकारी प्रकरणमा संसदीय छानविन समितिको टिओआर नटुंगिएसम्म सदन चल्न नदिने बताउनु भएको थियो ।
उहाँले सहकारी ठगि प्रकरणमा एउटै सदनबाट दुई सांसदलाई फरक व्यवहार हुन नहुने तर्क गर्दै सांसद गीता बस्नेतलाई सहकारी ठगि प्रकरणमा पक्राउ पूर्जी जारी हुँदा गृहमन्त्री समेत रहनुभएका रवि लामिछानेलाई किन संरक्षण भनी प्रन गर्नुभयो । यस्तै, उहाँले गृहमन्त्रीले रोष्टममा उभिएर आफुहरुको पार्टी उपसभापति र महामन्त्रीलाई लगाएको नेपालका सूचना विदेशीलाई बेच्ने एजेन्टको लान्छना संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो ।
उता, प्रतिनिधि सभाले नाराबाजीकै बीच राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ । कांग्रेस सांसदले वेलमा नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यवाद दिने प्रस्ताव निर्णयार्थ पेश गर्नुभयो ।
जतिबेला विपक्षी दल नाराबाजीमा रहँदा सत्तारुढ सांसदहरु मात्र आआफ्नो सिटमा बसे । सभामुख घिमिरेले धन्यवाद प्रस्तावको विपक्षमा मत नआएको भन्दै सर्वसम्मतले पारित भएको घोषणा गर्नुभयो ।
त्यसपछि नाराबाजी र अवरोधबीच सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिले संघीय संसदको बैठकमा गरेको सम्बोधनको प्रति प्रतिनिधिसभामा टेबुल गर्न समय दिनुभयो । साथै प्रधानमन्त्रीलाई रोष्ट्रममा पुग्न सभामुखले आवश्यक सुरक्षा व्यवस्था गर्न मर्यादापालकलाई निर्देशन समेत दिनुभयो ।
यसै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी अध्यादेश समेत प्रतिनिधिसभासमक्ष पेश गर्नुभयो ।
यसैगरी, गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने प्रस्ताव राख्नुभयो । गएको जेठ ३ गते मन्त्रिपरिषद बैठकले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० लाई फिर्ता लिने निर्णय गरेको थियो । सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभयो ।