राजधानीको गरम हावाले कहिले काँही गाउँ याद दिलाउने चिसो सिरेटो बोकेर ल्याउँछ । दुःखका खिलहरूभित्र निसासिएका अभावका पिपहरू यसरी सुन्निन्छ, कि मानौँ कुनै दिन त्यो विष्फोट हुनेछ र भरिनेछन् काठमाडौका सबै खाल्डा खुल्डीहरू । बस् त्यो दिनमा म पुग्न चाहनन्न, तर हामीले नचाहेर कहाँ चल्छ र ? यो चल्थ्यो भने सायद आज मेरो कलम चल्दैन थियो ।
सपनाको शहरमा रहरका बिस्कुन सुकाउन घामको प्रचण्ड ताप त सहनै पर्छ । सुदूरका गाउँहरूबाट सुमधुर नाउँहरू हरेक वर्ष यो खाल्डोमा आफु पुरिन वा आफूभित्रको खाल्डो पुर्न, आँट बोकेर पस्छन् ।
‘गाउँ छाड्ने बेला’
झुल्के घामसङ्गै सक्नेहरू सर्टिफिकेटको थाक क्लियर व्यागमा मिलाएर, नसक्नेहरू राहत खोज्दै हिडिरहेका राहदानी बोकेर माइक्रोवस भित्र छिर्छन । र, बन्द गर्छन घर फर्कने सबै ढोकाहरू । कलिला अनुहारहरू आमाबा छोडेर, कलिला नाबालक भएका आमाबाहरू आ-आफ्नै व्यथा पोको पारेर सिन्धुलीको नागबेलीमा झैं फनफनी घुम्छन, अनि घुमाइरहन्छ टाढिएका कानहरूलाई फोन ।
गणतन्त्रको नुनखुर्सानीमा चोपेर संघीयताका चिराहरू बढो स्वादले चबाउँछन यात्रीहरू । जसले मुख मात्र नभई मनमा पनि चर्को थप्छ, मस्तिष्कमा पनि पिरो धुवा उढाउँछ । यस्तै-यस्तै गरि गाउँ विस्तारै नेपथ्यमा विलाएर जान्छ, बादलहरूले घरको धुरि पनि पुर्छन् ।
‘वेलकम टु क्यापिटल’
कोटेश्वरको कोलाहल क्या गज्जब, म्याथ सरले भन्ने गरेको ‘माछा बजार’ जस्तो, भाटभटेनीको उचाई र चौडाइले पुरै भूगोल ओगटे जस्तो । खेत जस्ता फरकिला सडक, असरल्ल छरिएका व्यापारीको र गुडिरहेका यात्रुवाहकका सह–चालकहरूको ककटेल ध्वनी, सबैले उचालीरहन्छन्, उपत्यकालाई ।
तर, विस्तारै सब साघुरो गल्लीमा परिणत हुन्छ, चोकहरू आफैं झोंकमा चल्छन् । सबै दिनभरि कुददा कुददै व्यस्त हुन्छन् । र, राति सुत्दा सुत्दै सक्किएर विहान उठ्दा फेरि रित्तो भएर ब्यूँझन्छन् । सडकपेटीमा पोलिइरहेका सेकुवा र मकैबाट आएको सुगन्धभित्र लुकेका पीडाको तुवाँलो निलो आकाशमा गएर बाक्लिन्छन्, र फैलन्छन् गगनभरी ।
भान्सामा हप्तैबाट उग्राउन नपाएका भोका थालहरू हेरिरहन्छन टुलुटुलु, भान्सेको थकित अनुहार । भान्से हेरिरहन्छ खाली भएको सपनाको ग्यास । यहि बिचमा चिसो रातहरूमा निभेका आगो जति झोंसे पनि बल्न पाउदैन, बल्न सक्दैन । हरेक बिहान क्यापिटलमा आउँने क्यापिटलिस्ट पराकम्पले सम्भ्रान्त र भुइँमान्छेबिचको खाल्डोको आयतन अझै बढाइरहन्छ । जसको गहिराइमा परेर ‘गाउँ छाडेर ठाउँ पसेका’हरू ।
अनयासै बिलाउछँन, गुड छाडेर चारो खोज्न हिडेका चराहरू । दशौ जिल्लाको आकाश ढाकेर बढो दुःखले राजधानीको धुरिमा पुग्छन् तर मात्रै केही विरलै अनुहारहरू नयाँ यात्राको उडान भर्न सक्षम हुन्छन् । केही सपनाको बोझले थिचिन्छन, केही अभावको जहाजमा ठोकिन्छन् । एक्सपाइरी डेट नलेखिएका सपनाका चक्कीहरू थपिरहन्छन् उनीहरू, नयाँ युगका नयाँ रोग र भोकसँग जुधिरहन्छन् ।
लोकसेवा र भाषा कक्षामा जम्मा भएका केही चराहरू अन्त्यमा तावाबाट उम्केर भुङ्ग्रोमा खस्छन ।
खुलामञ्च, भृकुटीमण्डप हुँदै माइतीघर मण्डलामा सेलाउने जुलुस जस्तै गन्तव्य देखेका तर बाटो नभेटेकाहरू थचक्क बस्छन, र उहि पुरानो सपनाको पोका कस्छन् । सूर्योदयसँगै राजधानी पसेको किरणले सूर्यास्तको अँध्यारोसँगै घर जाने बाटो नै बिर्सन्छ । कथा ‘काठमाडौ’ वियोगान्त क्लाइमेक्समा टुङ्गिन्छ ।
‘गाउँ फर्कने बाटो’
‘क्या गज्जब पुल लाग्यो हगि ? क्या टिलिक्क कालो पत्रे है ? अब त सरर माइक्रोमा घर फर्कने हो ।’ यहि वाक्यांश अर्धचेतको चिन्तनमा बरबराइरहन्छ, जिन्दगीको दौडधुपमा डायरीको पानामा, डेट बक्समा अड्केको ‘बकेट लिस्ट’ कतै पुरिन्छ । घरको याद र यादको घर, दुई समानान्तर धर्काहरू कुदिरहन्छन । छोरोको सपना र सपनाको छोरोबीच द्वन्द चलिरहन्छ । मधुरो स्वरमा पछाडिबाट गाउँ एक्लै विलौना सुनाइरहन्छ ।
हुन त सपनाहरूको सीमा हुन्न भनिन्छ, तर अहँ ! अब त सपनामा पनि सेन्सरशिप सुरु हुन्छ । गाउँ खाली खालीपनको झ्याउरे भाका भट्याउछ, आमा ‘लुखुरी–लुखुरी’ भन्दै टाढिएका सन्तान बोलाउछिन, बा खामोमा अडेस लागेर पालो पर्खिरहन्छन । गाउँ फर्कने बाटो बनमाराले छोप्छ, पुलको रसातलमा वियोगका भेल बगिरहन्छन । गाउँले पनि बोलाए कै हो, गाउँ जाने बाटो नि सुगम नै भएको हो, गाउँ जान मन पनि भए कै हो तर खै किन हो आज गाउँको बाटो अझै घुमाउरो भएको छ ।
‘यत्तिकैमा पर्दा लाग्छ’ ।
यहि हो नियतिको पूर्णपाठ, न्यायाधीशको पूर्ण इजलासले गरेको फैसला ।
अर्डर ! अर्डर !!