चितवन । राप्ती नगरपालिका प्रमुख शमशेर लामाले सरकार सम्हालेको दुई वर्ष पुरा भएको छ । दुई ठूला दल नेपाली काँग्रेस र एमालेका जनप्रतिनिधिहरुको अवरोध छिचोल्दै उहाँले नगर विकासमा उल्लेख्य उपलब्धि हासिल गरेको जिकिर गर्नु भएको छ । आफुले नेतृत्व सम्हालेदेखि नै नगरको मुहार फेरिन सुरु भएको उहाँको भनाइ छ ।
मेयर लामाले विकास निर्माण र नगरबासीको चाहना अनुरुप गरिबी निवारणलाई प्राथमिकता दिएर काम गरेको, नगरबासीको आधारभूत आवश्यकता पुरा गरी विकासका काम अगाडि बढाएको, नगरको भौगोलिक अवस्था चित्रण गरी र जनताको प्राथमिकता, आवश्यकता पहिचान गरी त्यसको समाधानमा प्रयासरत रहेको, नगरको शिक्षा र स्वास्थ्यमा चित्त बुझ्दो परिवर्तन गरेको, निःशुल्क शिक्षा र स्वास्थ्यको अवधारणा कार्यान्वयन गरेको बताउनु भएको छ ।
राप्तीका जनताले अहिले पढ्न पैसा तिर्नु पदैन । स्वास्थ्य सेवा समेत सहज भएको छ । आफ्नो कार्यकालमा उहाँले विपन्न घर बनाउने घोषणा गर्नुभयो । उहाँले ५०५ घर बनाउने प्रतिवद्धता अनुरुप काम गरिरहनु भएको छ । तर, राप्तीमा राजनीतिक द्वन्द र टकरावले जनताले विकासको पर्याप्त अनुभुत गर्न पाएका छैनन् । मेयर र उपमेयरको कार्यकक्षमा जनप्रतिनिधिले नै लगाएको ताला तीन महिनासम्म खुल्न सकेको छैन । सोही कारणले विकासमा ढिलाई भइरहेको बताइनछ । जनप्रतिनिधि बीचको अनावश्यक लफडाले दुई वर्षमा सोचे जस्तो काम गर्न नसकिएको उहाँले बताउनु भएको छ ।
अनेकन् अबरोधबीच मेयर लामाले सीमान्तकृत चेपाङ समुदायलाई आवास निर्माणदेखि उनीहरुको जीवन स्तर उकास्ने गरी पालिकाको योजनालाई विकटतिर केन्द्रित गर्नुभएको छ । घण्टौ हिड्नुपर्ने कान्देलीको लागि, सुत्केरीले झेल्नुपर्ने समस्याबाट प्रताडित वासवाङका महिलाहरुको लागि, घरको छाना नभएकाहरुका लागि, भोकाएकाहरुको भोक मेटाउन कै लागि लामाले योजनालाई पहाड केन्द्रित गर्नु भएको हो ।
६५ प्रतिशत भू-भाग विकट रहेको राप्ती नगरपालिकाको मुहार एकै पकट फेर्न मुश्किल छ, उहाँ भन्नुहुन्छ, ‘चुड्कीमै समृद्ध नगरको खाका कहाँ कोर्न सकिन्छ ?’ जनताको मत पाएपछि भोकाएकाहरुको भोक मेट्नु पर्छ भन्दै मेयर लामा विकटका वस्तीहरुमा आफैं पुग्ने गर्नु भएको छ । विकटमा जाँदा उहाँ रित्तो हात कहिल्यै जानुहुन्न, नाना, छाना र खाना लिएर बस्तीमा पुग्ने मेयरको छवि बनाउनु भएको छ ।
आत्मनिर्भर जनताको परिकल्पना सहित मेयर लामाले आफ्नो दोस्रो कार्यकाल बर्ष पुरा गर्नु भएको छ । म आफै राप्तीमा जन्मिएर त्यँही हुर्किएर अहिले राप्तीकै नेतृत्व गरिरहेको छु, उहाँले भन्नुभयो, ‘अध्ययनको क्रममा केही समय म नगर भन्दा वाहिर रहेता पनि आफ्नै क्षेत्रमा केही गर्ने उद्देश्यले राजनीतिको माध्यमवाट जनताको सेवामा लागि परेको उहाँको भनाइ छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा वडा नम्बर ४ को अध्यक्ष र २०७९ जेठ को निर्वाचमा मेयर बन्नु भएका उहाँ चेपाङदेखि आलिसान महलमा बस्नेसम्मका व्यक्तिको हकहितका लागि मेरिमेटनुहुन्छ । बस्ने वास नभएका, खाने गाँस नभएका जनताको नेतृत्व गर्नु उहाँको लागि कम चुनौतीपूर्ण थिएन । आधा जनतालाई छिटो विकास चाहिएको थियो, कसैलाई भने सडक निर्माण, खानेपानी, यातायात र पिद्युतको पहुँच पुगोस भन्ने थियो ।
दुई बर्षको अवधिमा मेयर लामाले ३ सय २५ विपन्न परिवारको लागि आवास निर्माण गर्नुभएको छ । शिक्षाका परिर्वतन ल्याउन उहाँले निकै ठूलो कसरत गर्नु भएैकोछ । राप्तीका ४९ सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा अन्तर्गत हरेक बर्ष १३ हजार विद्यार्थीले निःशुल्क अध्ययन गरिरहेका छन् ।
अहिले विकट क्षेत्रमा आवसीय विद्यालय सञ्चालनको लागि तयारी गरिएको छ । स्वास्थ्यमा नगरबासीलाई निःशुल्क एम्बुलेन्स, विरामीलाई निःशुल्क रगत, १० हजारको निःशुल्क स्वास्थ्य बिमा, हरेक हप्ता घरघरमा निःशुल्क स्वास्थ्य परीक्षण, कान्दामा स्वास्थ्य केन्द्र, वासवाङ्गमा वर्थिङ्ग सेन्टर सुरु गरिएको छ । नमुना कान्दाको अभियान अन्तर्गत सडक विस्तार, वडा नम्बर १३ मा टेलिकमको पहुँच, कान्दामा फोरजी इन्टरनेट सेवा विस्तार, विकटमा पिसानी मिलको व्यवस्था गरी दैनिक जीवनयापनलाई सहज बनाएको मेयर लामाको भनाइ छ ।
कृषितर्फ कृषि एम्वुलेन्स खरिद, उत्पादनमा सहजीकरण, सिंचाइको लागि स्यालो बोरिङ्ग वितरण, बेमौसमी तरकारीलाई प्रोत्साहन र टनेलको व्यवस्था, ८० प्रतिशत लागत साझेदारीमा मिनी टिलर र धान काट्ने रिपर अनुदानमा वितरण, मौरीमा अनुदान र विमा कार्यक्रम सञ्चालन गरिएको छ । भुमिहिन दलित, सुकुम्वासी, अव्यवस्थित बसोवासीको जग्गा नापजाँच गरी निस्सा वितरण गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा चेपाङ समुदायको लागि चिउरी चमेरो संरक्षण कार्यक्रम तथा पहाडी वडामा एकीकृत बस्ती निर्माणसमेत भएका छन् ।
नागरिकको गुनासो सुन्न र उनीहरुको आवश्यकता पहिचान गर्न जनतासंग मेयर कार्यक्रम सुरु गरिएको छ । राप्ती नगरपालिकालाइ प्रविधिमैत्री बनाइएको छ । नगरको प्रशासनिक काम प्रविधिमैत्री र डिजिटल माध्यमबाट भइरहेका छन् । यो नगरपालिकाले चालु आर्थिक बर्ष देखि दिगो आयआर्जनको उद्देश्यलाई प्राथमिकतामा राखि नगरलाई कफी जोन घोषणा गर्न वडा नम्बर-१३ स्थित गुन्द्रीमा कफीको विउ राख्दै कृषकलाई अनुदानमा कफी खेती सुरु गरिएकोमा वडा नम्बर १० देखि १३ का किसानहरु कफी खेतीतर्फ आकर्षित भएका छन् । समग्रमा आफ्नो कार्यशैलीप्रति नगरवासी उत्साहित भएको उहाँको भनाइ छ ।