काठमाडौं । काठमाडौं उपत्यकाबासीले बर्खामा मेलम्चीको पानी देख्न, पीउन नपाउने भएका छन् । यो वर्ष पनि बर्खामा मेलम्चीेको पानी काठमाडौँ उपत्यका नआउने भएको हो । बाँध क्षेत्रमा बाढी रोक्ने पूर्वाधार तयार नभएका कारण यो बर्खामा पनि मेलम्चीको पानी उपत्यका नआउने पक्का छ ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रन्त लामिछानेका अनुसार ठूलो पानी पर्ने वित्तिकै सुरुङमा लेदो पस्ने भएका कारण वर्षायाममा पानी पथान्तर बन्द गरिनु पर्नेहुन्छ ।
ठूलो पानी पर्ने वित्तिकै आउने लेदोका कारण सुरुङ्मार्ग थुनिने भएकाले बर्खामा पानी पथान्तर बन्द गरिने उहाँको भनाइ छ । उहाँले, ‘सुरुङ्मार्गमा बाढी रोक्ने पूर्वाधार बनिसकेको छैन । लेदोसहितको बाढी आउनेबित्तिकै सुरुङ्मा असर गर्ने भएकाले पानी पथान्तर रोक्ने योजना बनाएका छौँ’ भन्नुभयो ।
बर्खाको समय दुई महिना पानी उपत्यका नआउने उहाँको भनाइ छ । गतवर्ष बाढीेले क्षति गरेको हेडवक्र्स अहिलेसम्म नबनेकाले बर्खामा पानी उपत्यका पठाउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
सामान्यतया नेपालमा जुन ८ (जेठ २८) देखि मनसुन सुरु हुन्छ । यसपाली भने मौसम विज्ञान विभागले मनसुन सुरुहुने मिति किटान गरेको छैन । ठूलो पानी पर्ने बित्तीकै पानी पथान्तर रोक्न टोली तयारी अवस्थामा रहेको समितिका कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।
अघिल्लो वर्ष असार ८ गतेबाट काठमाडौँमा पानी पथान्तर कार्य रोकिएको थियो । गत वर्ष माघ १ गतेबाट मात्र उपत्यकामा मेलम्चीको पानी वितरण सुरू गरिएको थियो । अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आइरहेको छ ।
मेलम्चीको मुहानमा हाइड्रोलिक उपकरण राखे पनि गत वर्ष साउन २८ र २९ गते आएको बाढीले सुरूङको मुखमा क्षति गरेको थियो । सहायक सुरूङभित्र उपकरण पसाएर सफा गर्न कठिन भएकाले यसपटक सुरूङ सुरक्षाका लागि मनसुन सुरू हुनेवित्तिकै पानी पथान्तर रोकिने कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।
२०७८ साल असार १ गते आएको निर्माण सकिएको पहिलो वर्षमै लेदोसहितको बाढीले आयोजनामा क्षति गरेपछि मेलम्चीको पानी बर्खामा उपत्यका ल्याउन समस्या हुने गरेको छ । मेलम्ची खानेपानी विकास समितिले करिब ३ करोड रुपियाँ खर्च गरेर गत माघमा अस्थायी तवरले पानी काठमाडौं ल्याएको थियो ।