काठमाडौं । काठमाडौंको अधिकतम तापक्रम यो वर्षकै उच्च मापन गरिएको छ । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस मापन गरिएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार यो वर्षका लागि अहिलेसम्मकै बढी तापक्रम मापन गरिएको हो । मौसमविद सञ्जीव अधिकारीले, “यो यस वर्षका लागि आजसम्मको बढी तापक्रम हो,” भन्नुभयो ।
यसअघि गएको शनिबार काठमाडौंको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको थियो । बिहीबार भने काठमाडौंको अधिकतम तापक्रम २९.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।
काठमाडौंको हालसम्मकै उच्च तापक्रम ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।
महाशाखाले शुक्रबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४०.४ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार नेपालगन्जको अधिकतम तापक्रम ३८.६ डिग्री सेल्सियस थियो ।
शुक्रबार धनगढीको अधिकतम तापक्रम ४०.३ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार भने सो क्षेत्रको अधिकतम तापक्रम ३७.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।
महाशाखाका अनुसार भैरहवाको ३९.९, जनकपुरको ३८.८, दिपायलको ३८.०, वीरेन्द्रनगरको ३७.६, बिराटनगरको ३७.७, सीमराको ३७.७, धरानको ३७ डिग्री सेल्सियस मापन गरिएको छ ।
महाशाखाका अनुसार नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।
महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्दछ ।