काठमाडौं । अङ्ग्रेजीमा रेड-वाटल्ड ल्याप्विङ (Red–wattled Lapwing)भनिने हुटिट्याउँ नेपालमा पाइने एक प्रकारको चरा हो । यो चरा कहिलेकाही उत्तानो परेर सुत्छ, भनिन्छ । उत्तानो परेर सुतेको बेला खुट्टा आकाशतिर फर्काउँछ अनि केहिबेरपछि उसलाई आफ्नै खुट्टाले आकाश थामिरहेको भ्रम हुन्छ रे, अनि खुट्टा हल्लाउदा आकाश खस्छ भनेर नहल्लाइकन थिर बस्छ, भन्ने लोक कथन छ ।
यो चरा शान्त तलाउको छेउमा उभिरहेकाबेला तलपट्टि पानीमा देखिने आफ्नो खुट्टा र खुट्टाले कुल्चिरहेको पानीमूनिको आकाश देखेर खुट्टा हल्लाउन डराउँछ । आफुले खुट्टा हल्लाए आकाश झरेर अझ तल भासिने डरका कारण उ नचलिकन बस्ने गरेको चरा पण्डितहरु बताउँछन् ।
यो चराबारे जे जति आँकलन गरिए पनि, उखान टुक्कामा यसको नाम जोडिए पनि धार्मिक र वैज्ञानिक पाटोसँग यी कुरा मेल खाँदैनन् । पुर्खाहरुले चरा चुरुङ्गीलाई जनजीवनसँग जोडने प्रयास नगरी गफै गफमा हुटिट्याउँले आकाश थाम्दैन भनेका हुन् । साथै क्षमता भन्दा बढीको जिम्मेवारी बोक्ने कुरा उठ्यो कि कसै कसैले आफु जान्ने पल्टिन वा आफुलाई बुझक्कड देखाउन हुटिट्याउँले आकाश थाम्दैन, भनी व्यंग्यवाण प्रहार गर्ने गर्दछन् ।
विशेषतः नेपालका तराई क्षेत्रमा हुटिट्याउँ भेटिन्छन् । अति चर्को स्वरमा ट्याउँ ट्याउँ कराउने भएकै कारण यो चराको नाम खराब भएको हो । वाक्क पार्ने आवाजकै कारण मान्छेहरुले जथाभावी धेरै बोलिरहने व्यक्तिलाई यसै चरासँग दाँज्ने गर्दछन् । र, झोंकिएर भन्ने गर्छन्, कति ट्याँउ ट्याँउ गरेको वा के हुटिट्याउँ जस्तो कराको, भनेर । अंगे्रजी भाषीहरुले यसको आवाज डिड हि डु इट जस्तो सुनिने भएकाले यो चराको नाम डिड हि डु इट भनेर राखेका छन् ।
भारतका गुजरात, राजस्थान लगायतका प्रान्तमा हुटिट्याउँ लाखौंको संख्यामा देखिन्छन । केही स्थानमा यो चराको अण्डा पार्ने प्रवृत्तिलाई बर्खाको आगमनसँग जोडेर समेत हेरिन्छ । यदि हुटिट्याउँले जमिनको उच्च स्थानमा अण्डा पार्यो भने राम्रो वर्षा हुने विश्लेषण गरिन्छ । खोला वा तलाउको किनारामा अण्डा पार्यो भने सामान्य वर्षा हुने मानिन्छ । सुकेका पानीको श्रोत वा सुख्खा स्थानमा अण्डा पार्यो भने वर्षा कम हुने वा ढिलो हुने अनुमान लगाइन्छ ।
पश्चिम एशियाको इराकदेखि दक्षिण एशियाका प्राय सबै मुलुकमा हुटिट्याउँ देख्न पाइन्छ । नेपाल र भारतको कश्मिर क्षेत्रका १८ सय मिटरसम्मको उचाइमा यो चरा देखिएको बताइन्छ । गर्मी र बर्खायाममा यो प्रजातिको चरालाई काठमाडौं उपत्यकामा समेत देख्न सकिन्छ ।
खोला वा तलाउका किनारामा चरेर बस्ने हुटिट्याउँ ३५ सेण्टिमिटर लामो, खैरो, बैजनी, कालो, रातो र पहेलो रङ्ग मिश्रित आकर्षक चरा हो । यो चराका भाले र पोथी उस्ता उस्तै हुन्छन । भालेका पखेटा पोथीका तुलनामा केही हदसम्म ठूलो हुन्छ ।