काठमाडौं । नेपालमा आधुनिक लिखित इतिहासको स्पष्ट प्रारम्भ लिच्छवीकालदेखि भएकोमा कुनै दुविधा छैन । तर, केही वर्षअघिसम्म पनि लिच्छविकालका अभिलेखहरुमा उल्लेखित तिथि मितिका कारण यो स्वर्णयुगको इतिहासमा सम्वतको विवाद देखियो ।
धेरै इतिहासकारले लिच्छविकालीन अभिलेखहरुलाई आ-आफ्नै ढंगबाट व्याख्या गरे । तर, गोकर्णेश्वर नगरपालिकाको तीन नम्बर वडामा पर्ने सुन्ताखानमा प्राप्त एक अभिलेखले लिच्छविकालीन इतिहासलाई घाम जस्तै छर्लङ्ग बनाइदिएको छ ।
बलौटे माटोमुनि दबिएका कारण आफ्नो मूल स्वरुप र अंकित अक्षरहरु समेत भर्खरै कुँदिएका जस्तो देखिने सुन्ताखानको यो अभिलेखले शक संवत, लिच्छवीकाल कै पूर्वार्ध र उत्तरार्ध गरी दुई प्रकारका सम्बत, मानदेव संवत जस्ता विवादलाई एकैपटक शान्त बनायो । र, नेपालको इतिहासमा पहिलोपटक लिच्छविकालीन सम्बत एउटै थियो भन्ने कुरा प्रमाणित गरिदिएको छ ।
यो अभिलेख निजी जग्गामा २०४६ सालको फागुन महिनातिर फेला परेको हो । १ सय ४ सेन्टिमिटर लामो र ५६ सेन्टिमिटर चौडाई रहेको यो अभिलेख लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा कुँदिएको छ । मृगकोचित्र तथा धर्मचक्र अंकित यो शिलालेख तत्कालीन महासामन्त अंशुवर्माले कैलाशकुट भवनबाट जारी गर्न लगाएको स्पष्ट भएको छ ।
साथै यो शिलालेखमा लिच्छवी सम्वत् ५ सय ३६ स्पष्टसँग कुँदिएको छ । यो शिलालेख प्राप्त भएपछि लिच्छविकालीन अभिलेखहरुमा भेटिने संछिप्त संवत् र पूर्ण सम्वत्को विवाद पनि सदाका लागि टुंगिएको छ । यो अभिलेखले हालको सुन्ताखान, तत्कालीन अहिन्दुकोट्ट ग्राम रहेको स्पष्ट गरेको छ साथै यो अभिलेखमा कुल १६ पङ्क्ति रहेका छन् ।
प्लटिङ्गको प्रकोपमा सुन्ताखानका इतिहास
के लेखिएको छ त अभिलेखमा
लिच्छवी लिपि र प्रौढ संस्कृत भाषामा लेखिएको यो अभिलेखमा कैलासकुट भवनबाट जारी भन्ने शब्द परेकाले कैलाशकुट भवन नजिकै पर्ने गरी राज बिहार बनाएको संकेत गरेको छ .। साथै सीमा निर्धारणसहित राज बिहार बनाएको र राज बिहार अनुकूल वातावरण खडा गर्न पशुपंक्षी हत्या नगर्ने र पालनमा भने छुट दिने गरी मल्ल कर छुटको व्यवस्था उल्लेख छ ।
मल्ल कर छुट वापत स्थानीय परिवारहरुले चार पण मुद्राको इकाई मिनाह पाएको लेखिएको छ । बिहारमा चारै दिशाबाट भीक्षु संघहरू आएर बस्ने गरेको समेत उल्लेख छ । तत्कालिन समय मै यो राज विहारका लागि अंशुवर्माले लिच्छवी सम्वत् ५ सय ३२ मा ६ पुराण र दुई पण मुद्रा निगाह भएको र रकम सम्बन्धी स्थिती बन्देज व्यवस्था गरेको उल्लेख हाँडीगाउँमा प्राप्त अभिलेखमा समेत छ । (चार पणको एक पुराण र ४ पुराणको एक काषार्पण )
ॐ त्रैधातुक क्लेश तरुं स्परन्तञ्चतुर्विधानास्रतधी भुजेन । समूल
मुन्मूल्यादिदेश मार्गम्मोक्षस्य यस्तनमतादरेण ।। स्वस्ति कैलास
कूटभवनाच्छी महासामन्ताङशवम कुशली अहिदु कोट्टग्राम नि
वासिनः कुटुम्बिनो यथाप्रधानङकुशलमाभास्य
ति विदित मस्तु वोस्माभिरिमङग्रामङकृत सीम निर्णय स्व
कारितक श्री लाज विहारे चतुर्दिशान्य भिक्षु सङघाय
प्रतिपाद्य तदाज्ञा सम्पादेन परितुष्ट येत्र मल्लकर प्रति
बद्ध कुटुम्विनो निवसन्ति तेषाम्मल्लकरापह्रासेन व प्र
सादः कृतस्त दतः परमितङग्राम निवासिभिर्मल्लकर म
नुष्यैश्चत्वारः पणा मल्लकर वत्ति भुजे देया श्चिरस्थित
ये चास्य प्रसादस्य शिलापट्टक शासन मिदन्दत्त
न्तन्देवं वेदिभिरस्मत्पाद प्रसादोपजीविभिनकैश्चि
देष प्रसादोन्यथा करणीयो यस्तन्यथाकुर्यात्कारयेद्वा त
महमुत्पथ प्रवत्तिनन्न मर्ष यिष्यामि भाविभिरपि भूपतिभि
गुरुकृत प्रसादानुवर्तिभिरेव भाव्यन्दूतकश्चात्र महासामन्त
श्रीभोगवर्मा सम्वत ५३६ द्वितीय पौष शुक्ल पञ्चम्याम
सुन्ताखानका प्राचीन भग्नावशेषहरु नष्टहुने चरणमा
ॐ वैधातु क्लेशरूपी ठूलो रूखलाई चतुर्विधान बुद्धि रूपी भुजाले जरासहित उखेलेर जो फाल्न खोज्छ उही मोक्षको बाटोमा लाग्नसक्छ । कल्याण होस । कैलाशकूट भवनबाट श्री महासामन्त अंशुवर्माले अहिदुकोट्ट ग्राम निवासी परिवारलाई प्रधानहरूदेखि अरू परिवारलाई कुशल सोधेर आज्ञा गर्नु भएको छ । तिनीहरूलाई थाहा होस हामीले सीमा निर्धारण गरेको गाउँमा आफैले श्रीराजविहार बनाइ त्यसको चार दिशाका भिक्षु संघसित सहमति लिएर मल्लकर घटाई दिने व्यवस्था गरी दिएका छौं । मल्लकर लागेका परिवारहरू यो निगाहबाट अति सन्तुष्ट छन् ।
सीमाङ्कित गाउँका निवासी परिवारहरूले मल्लकर स्वरूप ४ पण वृत्ति पाउने मानिसलाई बुझाउनु पर्ने गरियो । यसैगरी, पछिसम्म यही नियम अनुसार कायम गर्नका लागि निगाह भएको कुरा अभिलेखमा लेखेर थापना गरियो । त्यसैले यो कुरा बुझ्नेहरूले केही गरी अन्यथा गरे वा गराएमा यस अनुसार पालना नगरी त्यसको खिलाफमा उत्प्रेरित भयो भने उनीहरूलाई कुनै हालतमा सहने छैनौ । यहि बमोजिम पछिका राजाहरू समेतले पनि यसैलाई गौरवपूर्ण मानेर यस निगाहलाई कायम गरेर जानेछ । महासामन्त श्री भोगवर्मा दुतक साक्षीको रूपमारहेको छ । सम्वत ५३६ द्वितीय पौष शुक्ल पञ्चमी ।
- यहाँ अहिदुं ग्राम मात्र नभनी कोट्टको समेत उल्लेख देखिएको हुनाले हरेक कोट्टको आसपास नजिक राजदरवार हुनुपर्छ भन्ने कुरा महसूस गर्न सकिन्छ । त्यसकारण इतिहासकारहरू अंशुवर्माको कैलासकूट भवन कहाँ थियो भन्ने कुरामा कसैले हाँडीगाउँ, कसैले विशालनगर, कसैले देउपाटन आदि भनेर अड्कल गरेको पाइन्छ । तर यी ठाउँहरूमा होइन अंशुवर्माको कैलासकूट भवन यही गोकर्णको आासपास हुनुपर्छ भन्ने कुरा अहिदकोट्टबाट पनि स्पष्ट सङ्केत प्राप्त भएको देखिन्छ ।
- गोपाल वंशावलीमा राजविहार दुई जनाले बनाएको उल्लेख छ । एउटा राजविहार लिच्छविकूलका राजा धर्मदेवले (मानदेवका पिता)ले बनाएको भन्ने छ र अर्को राजविहार अंशुवर्माले बनाएको भन्ने छ । सो वंशावलीको कुरा अभिलेखले पुष्टि हुन पाएको छ । लि.सं. ५३६ को गोकर्ण वालुवा गाउँमा प्राप्त अंशुवर्माको अभिलेखमा ‘स्वकारितक श्री राजविहार’ भन्ने उल्लेख भएबाट अंशवर्माले बनाएको श्रीराजविहार भनेको नै जहाँ अभिलेख प्राप्त भएको स्थल हो गोकर्ण महाँकाल थान उहीं भन्ने थाहा भएको छ । अंशुवर्माले बनाएको विहार श्रीराजबिहार गोकर्णमा हुनाले अंशुवर्माको राजदरवार कैलासकूट भवन पनि यसैको निकट हुनुपर्छ भन्ने बलियो प्रमाण र पुष्टि मिलेको छ ।