काठमाडौं । एमए चिदम्बरम स्टेडियम, सामान्यतया चेपौक स्टेडियमको रूपमा चिनिने चेन्नई, तमिलनाडु, भारतको क्रिकेट स्टेडियम हो । सन् १९१६ मा स्थापित, यो कोलकातामा ईडन गार्डनपछि भारतमा दोस्रो सबैभन्दा पुरानो क्रिकेट स्टेडियम हो । यो स्टेडियम तमिलनाडु क्रिकेट एशोसिएशनको स्वामित्वमा सञ्चालित छ । यो रंगशाला बंगालको खाडी मरिना समुद्र तटबाट केही सय मिटर टाढा चेपौकमा अवस्थित छ ।
यो स्टेडियमलाई पहिले मद्रास क्रिकेट क्लब ग्राउन्ड भनेर चिनिन्थ्यो । यो स्टेडियमको नाम BCCI का पूर्व अध्यक्ष र TNCA का प्रमुखM.A.चिदम्बरमको नाममा राखिएको छ । यो तमिलनाडु क्रिकेट टोली र इन्डियन प्रिमियर लिग टोली चेन्नई सुपर किंग्सको घरेलु मैदान हो । चेपौकले आफ्नो पहिलो टेस्ट म्याच १० फेब्रुअरी १९३४ मा आयोजना गरेको थियो । सन् १९३४ मा पहिलो रणजी ट्रफीको पहिलो खेलको आयोजना गरेको थियो ।
चेन्नईको उत्तरमा रहेको वालाजाह रोड, पश्चिममा बेल्स रोड, दक्षिणमा पाइक्रोफ्ट्स रोड र पूर्वमा मारिना बीचको समानान्तर भिक्टोरिया होस्टल रोडबाट यो खेल स्थान पुग्न सकिन्छ । स्टेडियम सरकारी एस्टेट स्टेशनद्वारा चेन्नई मेट्रो मार्फत जोडिएको छ । यो चेपौक एमआरटीएस रेलवे स्टेशन मार्फत पनि जोडिएको छ जुन चेन्नई एमआरटीएसको चेन्नई बीच-वेलाचेरी खण्डमा अवस्थित छ ।
चेपौक स्टेडियम सन् १७६८ देखि १८५५ सम्म आर्कोटको नवाबको आधिकारिक निवास चेपौक प्यालेसको छेउमा अवस्थित छ । सन् १८५९ मा, मद्रास प्रेसिडेन्सीले भारू ५ लाख ८९ हजार रूपैयाँमा लिलामीमार्फत चेपौक दरबार अधिग्रहण गरेको थियो । १८६५ मा, सरकारले मद्रास क्रिकेट क्लबलाई दरबारको मैदानमा खेलस्थल निर्माण गर्न अनुमति दियो ।
चेपौक स्टेडियम सन् १९१६ मा स्थापित भएको थियो र, त्यसबेलदेखि नै तमिलनाडु क्रिकेट टोलीको गृहस्थल बनेको छ । कोलकाताको इडेन गार्डेनपछि यो भारतको दोस्रो सबैभन्दा पुरानो क्रिकेट स्टेडियम हो, जहाँ अझै पनि सबैखाले अन्तर्राष्ट्रिय क्रिकेट खेलहरू हुने गरेका छन् ।
जुन २०१० मा, स्टेडियमको पुनःनिर्माण कार्य भारू १ अर्ब ७५ करोडको लागतमा गरिएको थियो । २०११ मा पुनःनिर्माण सम्पन्न भयो र स्टेडियम पुनःनिर्माण पछि ५० हजार दर्शकले एकसाथ खेल हेर्न सक्ने क्षमताको बन्यो । तर, मुद्दा परेपछि ३१ मार्च २०१५ मा, भारतको सर्वोच्च अदालतले पुनःनिर्माणले सार्वजनिक सुरक्षा सम्बन्धी नियमहरू उल्लङ्घन भएको फैसला सुनायो ।
अदालतले नियम उल्लङ्घन भएका पुनःनिर्माणका भागहरू भत्काउन र उपयुक्त पुनर्निर्माण सम्पन्न नभएसम्म र ध्वस्त पूरा नभएसम्म, तीन स्ट्यान्डहरू (आई, जे, के) दर्शकहरूको लागि बन्द गरिदियो । फेरी पुनःनिर्माण सम्पन्न भएपछि मार्च २०२० मा दर्शकका लागि खुला गरिएको हो । र, साथै पुनःनिर्माण सम्पन्न भएपछि यो स्टेडियमको क्षमता ३८ हजार २ सय बनाइयो ।