काठमाडौं । (रञ्जना युनिकोड) लिपीले ‘टाइप एण्ड लेटिरिङ्’ विधामा यस वर्षको ‘डिएण्डएडी यल्लो पेन्सिल अवार्ड’ प्राप्त गरेको छ । यो अवार्ड नेपालका लागि पहिलो हो । बिहीबार लण्डनमा भएको ६२औँ डिएण्डएडी अवार्ड कार्यक्रममा नित्या रञ्जनाले यल्लो पेन्सिल अवार्ड प्राप्त गरेको हो ।
यससँगै कार्यक्रममा उड पेन्सिल, ग्रेफाइट पेन्सिल, ब्ल्याक पेन्सिल, ह्वाइट पेन्सिलसहित विभिन्न विधाका अवार्ड वितरण गरिएको थियो । छ सयभन्दा धेरै निर्णायकको निर्णयबाट लिपी पुरस्कृत भएको अवार्ड कार्यक्रममा सहभागी तोशी ओमगरीले बताउनुभयो ।
डिएण्डएडी विश्वव्यापी व्यावसायिक विज्ञापन, डिजाइन, शिल्प र सिर्जनाका क्षेत्रमा प्रदान हुने अवार्ड हो । सन् १९६२ देखि डिजाइन र विज्ञापनका क्षेत्रमा यो अवार्ड प्रदान गरिँदै आइएको छ । क्यालीजात्रा फाउन्डेसनका अध्यक्ष आनन्दकुमार महर्जनका अनुसार यल्लो पेन्सिल मौलिक रचनात्मक उत्कृष्टताका लागि प्रदान गरिन्छ । अवार्ड प्राप्त गरेपछि नित्या रञ्जना लिपी मात्र नभइ रञ्जना लिपीले अन्तर्राष्ट्रियस्तरमा पहिचान वृद्धि गरेको उहाँले बताउनुभयो ।
फाउन्डेसनले रञ्जना लिपीलाई डिजिटलाइजेसन गर्न भारतको ‘फन्ट डिजाइन कम्पनी’ एक टाइपसँग सहकार्य गरेको थियो । यसमा फन्ट विकासकर्ता तथागत विश्वास, सारङ्ग कुलकर्णी, नुपुर दात्ये हुनुहुन्छ । यसको विकास तथा सिर्जनाका लागि काठमाडौँ महानगरले पनि सहयोग गरेको थियो ।
“रञ्जना नेपालको मौलिक लिपी हो । मौलिक र प्राचीन भएर पनि यी अक्षरहरुको प्रयोग, प्रवद्र्धन हुन सकेको थिएन । यसले लिपी संरक्षणमा चुनौती बढ्दै थियो । यो जोखिमबाट बचाउन तथा संरक्षण र प्रव्द्र्धन गर्न लिपीलाई प्रविधिसँग प्रयोग अनुकूल बनाउने काम युवाले थालेका छन्”, फाउन्डेसनका अध्यक्ष महर्जनले भन्नुभयो ।
क्यालिजात्रा फाउन्डेसनमा आवद्ध युवाको सक्रियताले लिपी प्रविधिले ग्रहण गर्न सक्ने, कम्प्युटरमा लेख्न र सिक्न सक्ने स्वरुपमा रुपान्तरण भएको उहाँको भनाइ छ । यो लिपी इण्डो आर्यन, मङ्गोल, भोट बर्मन जातिको इतिहास, अस्तित्व र पहिचानसँग जोडिएको उहाँले बताउनुभयो ।
लिपीलाई प्रविधिमैत्री बनाउने क्रममा फाउन्डेसनले सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान, भाषिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध, मूर्त÷अमूर्त सम्पदाको पहिचान र संरक्षणको नातालगायत क्षेत्रमा गरिएको अध्ययनबाट पृष्ठपोषण लिइएको थियो ।
फन्टमा आकर्षक अक्षर छन् । स्वर र व्यञ्जन वर्णहरु, बिराम र अङ्क तथा लेख्य विकल्प रहेका क्यालिजात्राका अध्यक्ष महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार यस लिपीलाई संस्कृत, पाली र नेपाल भाषा लेखनका लागि प्रयोग गर्न सकिन्छ ।