बर्दिया । ।वीरगञ्ज महानगर, नेपालगञ्ज उपमहानगरपालिका र चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिए लगत्तै बर्दियामा अत्यधिक गर्मीका कारण तीन पालिकाले तीन दिन विद्यालय बन्द गरेका छन् ।
बढैयाताल गाउँपालिका, गुलरिया र मधुवन नगरपालिकाले यही जेठ १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द गरेका हुन् ।
गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख शतिश यादवले अत्यधिक गर्मीका कारणले पठनपाठनमा असहज भएको जनाउँदै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएपछि नगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताउनुभयो । तीन दिन बर्खे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न÷गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द हुनेछ । भोलि अर्थात् मङ्गलबार भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ । बिदा घोषणा गरे पनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने मधुवन नगरपालिकाका शिक्षा सुपरीवेक्षक खगेन्द्रप्रसाद खनालले बताउनुभयो ।
अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको सङ्ख्या बढेका छन् । बिरामीको चापले अस्पतालमा शय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डन डा सुवास पाण्डेले बताउनुभयो । उहाँ अनुसार गर्मी र तातो हावाका कारण बिरामी हुनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेका छन् ।
अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो । यसअघिनै अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नेपालगञ्ज उपमहानगरपालिका र चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएका छन ।
गर्मीको आतङ्क : विद्यालय बन्द, खोप अभियान स्थगित
वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै अभिभावक,विद्यार्थी र शिक्षकबाट गुनासो आएसँगै महानगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।
“वीरगञ्ज महानगर शिक्षा समितिको आज बसेको बैठकले अत्यधिक गर्मीको कारणले विद्यालयको पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो, “तीन दिन वर्षे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न/गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द हुनेछ ।” भोलि अर्थात मङ्गलबार भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ । महाशाखा प्रमुख कर्णले बिदा घोषणा गरेपनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने पनि बताउनुभयो ।
महानगर शिक्षा समितिको २०८१ वैशाख १७ गतेको निर्णयअनुसार प्रतिकूल मौसम (अत्यधिक गर्मी)का कारणले दिउँसोको समयमा पठनपाठन कार्य असहज भएको भन्दै बिहान ६ बजेदेखि गर्ने निर्णय गरेको थियो । गत वैशाख २० गतेदेखि वीरगञ्ज महानगर क्षेत्रमा बिहानीको समयमा पठनपाठन हुँदै आएको थियो ।
महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्रथामिक विद्यालय रहेको छ ।