२०१४ मा बङलादेशको क्रिकेट मैदानमा नेपाली राष्ट्रिय गान घन्किरहेको थियो । यता नेपालमा भने टिभी हुँदै हृदयको कुना कुनामा गौरवको नौलो धुन बजिरहेको थियो । खेलकूद इतिहासमा सायद नेपाल यति ठूलो मुकाममा पुगेको यो पहिलो दृष्टान्त थियो । मेरो बाल मानसपटलले भर्खर चौका छक्का चिन्दै थियो । बा र म नेपालको खेल टिभीमा हेर्दै थियौ । क्रिकेटको पहिलो अक्षर सी’पनि नबुझ्ने बालाई म आफूले बुझे जति बुझाइरहेको थिए ।
रातो र चन्द्रसूर्य अंङ्कित जर्सीले नेपाली डायस्पोरा भरी नयाँ उमङ्ग थपिरहेको थियो । बामे सर्दै गरेको क्रिकेटलाई यो भन्दा ठूलो हौसला के हुनसक्छ ? सीमित स्रोत साधन मै नेपाल त्यो स्थानमा उक्लिएको थियो । घरेलु संरचनाको अभाव, खेलभित्रका राजनीति, खेलकूदप्रति राज्यको अदूरदर्शीताले सबै चुनौतिलाई चिर्दै पारस खड्का र शरद भेषावकरहरू व्याटिङ गरिरहेका थिए । बसन्त रेग्मी र शक्ति गौचनहरु बल घुमाइरहेका थिए ।
पुबुदुको प्रभावशाली प्रशिक्षणमा नेपाल जितको नयाँ गीत लेख्दै थियो । तर, दुर्भाग्य त्यो विश्वकपमा आयोजक बङ्गलादेशसँग रनरेटको साँघुरो अन्तरलेपछि पर्दै नेपाल समूह चरणबाट बाहिरियो । यद्यपि सशक्त प्रदर्शनपछिको त्यो बहिर्गमन गौरवशाली थियो, पहिलो विश्वकप यात्रा मै नेपाली टोलीले देखाएको खेल कौशल र आत्मविश्वासले नेपाली समुदायमा क्रिकेट क्रेजको बिजारोपण गरायो ।
यो विश्वकप यात्रासँगै हामीले आ-आफ्नो ठाउँबाट अर्को विश्वकपको र टेस्ट राष्ट्र बन्ने सपना बुन्न थाल्यौ । बाको पुरानो मोजामा प्लास्टिक र कागत खादेर बल बनायौं, कुडों चलाउने दाविलोको ब्याट, केराको दाम्चाको स्टम्प बनायौं, खेतका गरामा बाउन्ड्री लाइन कोर्यौ, भाइ बहिनीको प्लेइङ इलाबेन बनायौ र उडाउन थाल्यौ सपनाको छक्का, उखेल्न थाल्यौ चुनौतिका स्टम्प । त्यै खेतका गरामा अर्को पारस बन्ने, अर्को ज्ञानेन्द्र र अर्को जितेन्द्र, सोमपाल बन्ने रहरका बीउ छर्न थाल्यौं ।
बेफिक्री घाममा टट्टिएर पक्डिन थाल्यौँ आकाशबाट खसेका आशाका बलहरू, आमाका सिर्काना, बाका हप्की दप्की सबै सहेर उमार्न थाल्यौं पेटभित्र क्रिकेटका किराहरू । यसै गरि बालापन बलसँगै उफ्रेर, ब्याटसँगै उझिएर चलिरहेको थियो । तर, जिन्दगीमा अर्कै जोड घटाउ चलिरहेको रहेछ । एकदिन व्याट-बल कि कापी कलम दुई मध्येबाट छान्नुस् भनेर प्रश्न पत्र अगाडि तेर्सियो, बाआमाको जागिरे छोराको सपनाले धकेलेर मलाई कापी कलमको कित्तामा उभ्यायो । पढाई र खेल प्यारालल भएर कुद्न थाले, अब क्रिकेट बलको पक्डाइ केवल विज्ञानको ‘गिब रिजन’मा मात्रै देखिन थाले । र, प्रेजेक्टाइलको हिसाबमा मात्रै उड्न थाले ।
यदाकदा मनभित्र लुकेर बसेको क्रिकेट प्रेम के हराउँथ्यो र ? फुर्सदका दिनहरूले खेल मैदान नलगे पनि टेलिभिजनको पर्दामा खेल देखाइरह्यो, कभरको फिल्डिङ पोजिसनमा मैले आफैलाई खोजिरहेँ, टेल इन्डरको ठाउँ, पार्टटाइम बलरको भूमिका, सबैमा आफैंले आफैंलाई भर्चुअल्ली एड्जस्ट गरिरहे । जसरी नेपाली टिमले मुस्किल साथ डिभिजनका खुड्किला उक्लिँदै थियो । त्यसै गरि म पनि मुस्किल मुस्किलले कक्षाको माथिल्लो खुड्किलो उफ्रँदै थिए ।
एकदिन मेरो डिभिजन सक्कियो, नेपाल भने डिभिजन मै अड्किरह्यो । मेरो ओडिआई यात्रा सुरु हुने भयो, दुर्भाग्य नेपाल भने निलम्बनमा झोंसियो । निराशाका बादलहरू नेपाली क्रिकेटको सर्वोच्च निकायमाथि मडारिन थाले, अनेक भुमरीमा भासिदै क्यान निलम्बनमा पर्यो । तर जेनतेन नेपाल एकातिर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरह्यो, अर्कातिर हामी क्यान व्युँतिने र एकदिन विश्वकप सपना तथा टेस्ट राष्ट्रको महत्वाकांक्षा पुरा हुने आशमा बाँचिरह्यौं ।
एसएलसीको समाप्तिसँगै काठमाडौँको यात्रा तय भयो, काठमाडौंको यात्रा, टियुमा क्रिकेट खेलको जात्रा, कति मिठो संयोग जुर्यो । पहिलो पटक नेपाली क्रिकेटको लर्डस्, टियुमा नेपाल भर्सेस केन्या हेर्न जाने मौका मिल्यो। त्यहाँ क्रिकेट क्रेजी भिड, क्या मनोरम दृश्य, घरि घाम घरि वर्षा खेल पेन्डुलम जसरी दायाँ बायाँ चलिरहेको थियो ।
जहाँसम्म याद छ, त्यो दिपेन्द्रको डेब्यु म्याच थियो । पारसको इन्जुरीले पारसको ‘सु’फिल गर्ने नयाँ प्रतिभालाई ठाउँ दियो । दुर्भाग्य नेपाल पराजित भयो, हामी निराश भयौं । पहिलो गाँस मै ढुङ्गा भने झैं, भयो । नेपाल जिताउन मैदान पुगेका हामी हारेर फिर्ता भयौं । यसबिचमा निजी क्षेत्रले सञ्चालन गरिरहेका घरेलु प्रतियोगिताले खेललाई जीवित राख्यो, खेलाडीलाई आशा दिइरह्यो । ईपीएल, डीपीएल, पीपीएल थिए र त हामीले क्रिकेट बचाइरहन पायौं । अन्तर्रास्ट्रिय खेलहरूमा भने हामी मुटु हातमा राखेर रिक्वाइर्ड रनरेट क्याल्कुलेट गरिरहन्थ्यौ । ‘कार्डियाक किड’ नेपालले रोमाञ्च पस्किन्थ्यो, विरलै मात्र यस्ता खेल भए, जहाँ हामीले सहज जित निकाल्यौ, सधै तरबारको धारमा खेल दौडिरहयो ।
अनेक भए, टेल इन्डरको साझेदारी कति खेल जिताए, कहिले वर्षाले जितायो, कहिले ढुङ्गाले जितायो, सबैभन्दामाथि करण केसी र सन्दीप लामिछानेले ओडीआई सपनाको अन्तिम कडीलाई कठिन बहादुरीले जोडे, लाग्न थाल्यो अब भने क्रिकेटले नयाँ पिकअप लिन लाग्यो । यहि असम्भव प्रयासहरूले हाम्रो विश्वकप सपनालाई अझै माथि उठाइरह्यो । तर, अझै पनि हामी नजिक भएर पनि टाढा थियौ । एसियाका धुरन्धर क्रिकेटिङ राष्ट्रबिचमा बसेर पनि मौकामा चौका हान्न सकेका थिएनौ । बोर्डको निलम्बनले क्रिकेटलाई पछाडि पारिरहेको थियो । तर, हामीले सपना मारेनौ, सायद यहि अठोटले हुनुपर्छ आजको सुखद सूर्योदय ।
कवि नवराज पराजुलीको शब्द सापटी लिएर भन्दा ‘पर्खाइ सबैभन्दा लामो यात्रा गर्नु हो’, हामीले साँच्चै लामो यात्रा गर्यौँ । बोर्डको निलम्बन आखिर फुकेर छाड्यो, हामी प्रफुल्लित भयौं, स्टोरमा थन्काएको विश्वकप सपनालाई फेरि बाहिर निकाल्यौँ । टिममा ठूलै पुस्तान्तरण भयो, नयाँ युवाहरूको आगमनसँगै नयाँ जोसको पनि उदय भयो । सिनियर्सको पदचाप पछ्याउदै २०१४ को विश्वकप टिभीमा हेरेका हाम्रा पुस्ताका प्रतिनिधि अब क्रिकेटको बागडोर समाल्न आए । हुँदाहुँदै इएसपीएनको लाइभ स्कोरबाट खेल विस्तारै डिजिटल स्टुमिङमा समेत पुग्यो ।
नयाँ प्रशिक्षकहरू उमेश पट्वाल, डेभ वाटमोर, पुबुदु सबैले खेलाडीमा केही नयाँ स्किल र माइन्डसेट थपिदिए । क्यानमा नयाँ मान्छेहरू आए, ती नयाँ मान्छे मध्ये एक थिए पारस खड्का । उनै पारस जसले २०१४ मा नेपाल लिड गरे । जसले नेपाली टिमको सबैभन्दा लामो समय कप्तानी गरे । उनै पारस, तपाई हामीले देखेको मैदानको लिडर, अब मैदान बाहिर पनि लिड गर्ने आट बोकेर आए । उनी सचिव जितेर आउँदा आशाको सञ्चार भयो । खेल बुझ्ने मान्छे देख्दा हामी हर्षित थियौं । विस्तारै नयाँ मौकाका ढोकाहरू पनि खुल्न थाले ।
मध्यतिर उतारचढाव घुमाउरो भएर नआएका हैनन् । लिग २ का सुरुवाती खेलहरूमा नेपालको प्रदर्शन निराशाजनक रह्यो । मैदानभित्र पनि खेलाडीबीच तनाव रहेको समचार आउन थाले । क्यान कतै फेरि निलम्बनमा पर्ने हैन भन्ने मनको बाघले हामीलाई खाइरह्यो । तर यसपालि त्यसो भएन, नेपालको नयाँ पार लगाउन मोन्टी आए, एण्ड रेस्ट इज हिस्ट्री ।
भारतीय प्रशिक्षक मोन्टी देसाइको आगमनसँगै नेपालले अपत्यारिलो प्रदर्शनको सिलसिला सुरु गर्यो, युवा खेलाडी रोहित पौडेलको कप्तानीमा नेपालले के चैँ गरेन ? लिग टुको पुच्छरबाट तेस्रो स्थानमा उक्लेर विश्वकप क्लालिफायर खेल्यो, युगौँयुगको सपना पूरा गर्दै नेपालले एसिया कपमा स्थान बनायो, विश्वमञ्चमा भारत र पाकिस्तानसँग आँटिलो प्रदर्शन गर्यो। अनि अन्त्यमा हाम्रो दशकअघिको सपना विश्वकपमा नेपालले आफ्नो ठाउँ पनि पक्का गर्यो । चिर प्रतिद्वन्द्वी युएईलाई घरेलु मैदानमा परास्त गर्दै नेपालले विश्वकपको खडेरीमा सफलताको वर्षा गर्यो। खेलाडीको मेहिनत, व्यवस्थापकको दृढता र फ्यानको पर्खाइ सबै अग्निपरीक्षा थियो । जसमा हामी सबै खरो उत्रियौँ । हामीले बाँचेको सपना हामीले पुरा गर्यौँ, यो टोलीको स्किल र टेक्निक हेर्दा लाग्यो, आफुले चाँहि बेलैमा क्रिकेट छाडेर सही गरिएछ ।
१० वर्षमा खोला फर्कियो, अब खोला हरेक वर्ष फर्कोस् ?, शुभकामना । यहि जुनमा, यहि जुनीमा हामी नीन करोड नेपालीले अमेरिका र क्यारेवियनको मैदानमा विश्वकप खेल्दै छौँ । खेलमार्फत देशलाई काँधमा बोकेर नयाँ इतिहास लेखिँदै छ । आसिफ, कुशल, अनिलहरू पावरप्लेमा पावर देखाउने छन्, मध्यक्रममा रोहित, सन्दीप, मल्ल, गुल्सनहरु चुनौति पस्कने छन् । फिनिसिङमा ऐरी, केसीहरुको आक्रमण देखिने छ ।
२०१४ को विश्वकपको अनुभवसहित सोमपाल कमल, अभिनाश, प्रतिशलगायतलाई प्रेरित गर्न उत्साही छन् । सागर-ललित स्पिन जालो फ्याँक्ने छन् । अब ‘सयौँ थुङ्गा’ बज्न मात्रै बाकि छ अब, रौँ ठाडो हुन मात्र बाँकि छ । टिम तयार छ, २०१४ देखिको पर्खाइमा पूर्णविराम लाग्दै छ, धुलोबाट उठेर नेपाल जाग्दै छ । अरू त त्यस्तै हो, अमेरिका जान नसकेनी टेलिभिजनमा खेल मज्जाले हेर्न पर्छ, आफू स्वयम् खेल्न पर्छ ।
गुडलक नेपाल !