काठमाडौं । नेपाली बजारमा उपभोक्ता कानून विपरीत अण्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले सार्वजनिक रुपमा विज्ञापन प्रकाशित गरेर अण्डाको उपभोक्ता मूल्य प्रतिगोटा २२ रुपैयाँ तोकेको छ । उपभोक्ता अधिकारकर्मीहरुका अनुसार अण्डामा संघले तोकेको उपभोक्ता मूल्य उपभोक्ता संरक्षण ऐन २०७५ ले गर्नै नहुने भनेको कोर्टेलिङ हो ।
उपभोक्ता संरक्षण ऐनले कुनै पनि संघ वा संस्थाले बजार मूल्यमा हस्तक्षेप गर्नु भनेको कार्टेलिङ हो भनेको छ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भन्नुहुन्छ, ‘अण्डा अत्यावश्यकीय वस्तुमा पर्दछ । अत्यावश्यकीय वस्तुको मूल्यमा कुनै संघ वा संस्थाले हस्तक्षेप गर्नु भनेको ऐन विरोधी वा कानून विरोधी कार्य हो । सोझै भन्दा त्यो चरम कार्टेलिङ हो ।’ व्यवसायीको नाममा विचौलिया हाबी भएसँगै बजारभाउ अनियन्त्रित भएको अध्यक्ष महर्जनले बताउनुभयो ।
बजारमा अण्डाको भाउ प्रतिगोटा २२ रुपैयाँ पुग्दा पनि उत्पादक किसानले लागत उठाउन सकेका छैनन् । अण्डा उत्पादक संघका अनुसार उत्पादकहरुले लागतभन्दा कम मूल्यमा विक्री गर्दै आएका छन् । अहिले एक क्रेट अण्डाको बजार मूल्य ४६० रुपैयाँ हो । जस अनुसार प्रतिगोटा १५ रुपैयाँ ३३ पैसा पर्छ । दुई वर्ष अघि अण्डाको मूल्य प्रतिगोटा १० रुपैयाँ थियो । तर, नेवाल लेयर्स कुखुरापालक संघले उपभोक्ता मूल्य प्रतिगोटा २२ रुपैयाँ तोकेर उपभोक्तालाई त्रसित बनाएको छ ।
अण्डा उत्पादक संघले पनि उत्पादकको लागत मूल्य र उपभोक्ताले खर्चिने मूल्यबीच निकै अन्तर रहेको स्वीकारेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल भन्नुहुन्छ, ‘किसानको लागत उठ्न अण्डा प्रतिगोता १६ रुपैयाँ ५६ पैसा पाउनु पर्छ । र, नाफाको लागि १७ रुपैयाँभन्दा माथिको मूल्यमा विक्री गर्नु पर्ने हुन्छ । तर, किसानले १५ रुपैयाँ पनि मुस्किलले पाउने गरेका छन् ।’
पाँच वर्षअगाडिको अण्डा उत्पादन आँकडा हेर्दा अहिले ५० प्रतिशतले कमि आएको बताइएको छ । लागत अनुसारको मूल्य नपाउँदा कुखुरापालक किसान पलायन हुँदै गएपछि उत्पादनमा कमी आएको अध्यक्ष पोखरेल बताउनुहुन्छ । संघका अनुसार २०७५ सालमा दैनिक ६२ लाख अण्डा उत्पादन हुने गरेकोमा अहिले दैनिक २८ लाख उत्पादन हुने गरेको छ । कुनै समय दैनिक १० लाख अण्डा उत्पादन गर्ने चितवनले अहिले दैनिक चार लाख गोटा मात्रै अण्डा उत्पादन गरिरहेको छ ।